‘सिटामोल’ले कस्तो पाइरहेछ त प्रतिक्रिया ?

0 Shares

साउन २३ गते शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘सिटामोल’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ। प्रदर्शनको पहिलो दिनदेखि नै सिनेमाले दर्शकको मन जित्न सफल भएको छ भने जैपूर्णिमाको दिन पनि देशभर हल भरिएको देखिन्छ।

निर्माण टिमका कलाकारहरु सौगात मल्ल र बेनिशा हमालसहितका सदस्यहरूले काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग प्रत्यक्ष संवाद गरेका छन्। सिनेमाको कथाले दर्शकलाई भावुक बनाएको र अन्त्यमा धेरैले आँसु पनि चुहाएको प्रतिक्रिया प्राप्त भएको छ।

शुक्रबार एमाले सम्बद्ध विद्यार्थी संगठनका शीर्ष नेताहरूले पनि चलचित्र हेरेर आफ्नो सशस्त्र जनयुद्धका घाइते र कर्णाली प्रदेशका नागरिकको अवस्था चित्रण गरेकोमा प्रशंसा गरेका थिए। उनीहरूको अनुसार, ‘सिटामोल’ले कर्णालीको समस्यालाई राज्यलाई स्पष्ट देखाएको छ र त्यहाँको विकासतर्फ ध्यान दिन जरुरी रहेको सन्देश दिएको छ।

‘सिटामोल’ले एक पूर्वमाओवादी कमाण्डरको जीवन कथा मार्फत जनयुद्धको पाटोलाई प्रस्तुत गरेको छ। चलचित्रमा देखाइएका दृश्यहरूले दर्शकलाई गहिरो भावुक बनाएको बताइएको छ।

अभिनेता सौगात मल्लले भने, ‘दर्शकको प्रतिक्रिया सुनेर खुशी लाग्यो। युवाहरू बढी हलमा आएका छन्।’ अभिनेत्री बेनिशा हमाल पनि दर्शकको मर्मस्पर्शी प्रतिक्रिया देखेर भावुक भएकी छिन् र दुइवटा फिल्म एकै पटक प्रदर्शन हुँदा प्रतिक्रिया कस्तो आउने डर थियो भनेकी छिन्।

निर्देशक राजबहादुर सानेको निर्देशनमा बनेको यस फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा लगायतका कलाकारको अभिनय रहेको छ। श्रीकृष्ण र जानुका यस फिल्मबाट नेपाली फिल्ममा डेब्यु गरेका हुन्।

चलचित्रको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन्। निर्माता भुगोल कार्की र विकास राज जोशी हुन् भने कार्यकारी निर्माता अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी हुन्।

सम्बन्धित समाचार

सबै