बाबुलाई ढलानको घर !, अरु के छ ‘जनै हराएको मान्छे’ को ट्रेलरमा ?

0 Shares

जनै पूर्णिमाको अवसरमा काठमाडौंमा आयोजना गरिएको कार्यक्रममार्फत चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को ट्रेलर सार्वजनिक गरिएको छ।

ट्रेलरमा मुख्य पात्रले आर्थिक अभाव र सम्पन्न बन्ने सपनाको लागि गरेको संघर्ष देखाइएको छ। कोरिया जान चाहने पात्रले घरबाट हिँडेपछि काठमाडौंमा ठगिएर पर्ने कथा, त्यसपछि परिवारलाई पालनपोषण गर्न विभिन्न बाध्यतामा परेर गरेका संघर्षहरू समेटिएका छन्।

मुख्य पात्र विजय बरालले बाउको ऋण तिर्न कोरिया जाने योजना बनाउँछन्, तर कहिले कोरिया पुग्न नसकी काठमाडौंमै अड्किन्छन्। उनले पक्कि घरको छाना मुनि बास बसाउने सपना देख्छन् तर आफ्नै जीवन अरूको बन्दकमा राख्न बाध्य हुन्छन्। कोरियामा जान नसकेपछि काठमाडौंमा भेटिने मिरुना मगरसँग प्रेम र दिदी केकी अधिकारीलाई भिनाजुले दिनुपर्ने दुःखजस्ता भावुक दृश्यले दर्शकको मन छोएको छ।

यो चलचित्र निम्नमध्यम वर्गीय नेपाली परिवारको कथामा आधारित छ र आम दर्शकले मन पराउने विश्वास निर्माण टिमले व्यक्त गरेको छ।

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते प्रदर्शनमा आउँदैछ। हिमाल न्यौपानेको निर्देशनमा बनेको यस चलचित्रमा ‘प्रेमगीत ३’ का अभिनेता मनिष राउतले असोसियट निर्देशकको भूमिका निभाएका छन्। राउत यसअघि अभिनयमा सक्रिय थिए भने अहिले निर्देशनतर्फ पाइला चाल्दैछन्।

चलचित्रमा विजय बराल, मिरुना मगर, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा र सुमन थापा लगायतको अभिनय रहेको छ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल र विमल न्यौपाने हुन्। नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन कार्यकारी निर्माता रहेका छन्।

थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङको छायांकन र कृष्ण परियारको सिनेमेटोग्राफी छ। कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्।

गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको यो चलचित्र ‘पूर्णबहादुरको सारंगी’ पछि विजय बरालको मुख्य भूमिकामा आउने पहिलो चलचित्र हो।

सम्बन्धित समाचार

सबै