‘मिसेस नेपाल वर्ल्ड २०२५’को अडिसन साउन ३१ मा

0 Shares

विवाहित महिलाहरूको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२५’ का लागि आगामी साउन ३१ गते (जुलाई १५) अडिसन हुने भएको छ। अडिसन नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेशनल होटलमा हुनेछ। इच्छुक सहभागीले खल्ती एप, रिबन इन्टरटेन्मेन्टको वेबसाइट, आयोजकको शंखमूलस्थित कार्यालय वा सोही दिन होटलमा प्रत्यक्ष रूपमा आवेदन दिन सक्नेछन्।

अडिसनबाट छनोट भएका प्रतिस्पर्धीलाई कोरियोग्राफर अश्विनी झाले प्रशिक्षण दिनेछन् भने विभिन्न विषयका विज्ञहरूले नियमित तालिम प्रदान गर्नेछन्। गंगा महर्जन र सम्राट शाहको संयोजनमा प्रशिक्षण सत्र भदौ १८ गतेदेखि सुरु हुनेछ। यस वर्षको ग्रान्ड फिनाले असोज २८ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ, जसकै अवसरमा ‘मिसेस नेपाल इन्टरनेशनल’ र ‘एमएस इन्टरनेशनल’ विजेताहरू पनि घोषणा गरिनेछन्।

रिबन इन्टरटेन्मेन्ट प्रालिका अध्यक्ष निशुकान्त झाका अनुसार, यस वर्ष पनि मिसेस नेपाल वर्ल्ड विजेताले अमेरिकाको लस भेगासमा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन्। मिसेस नेपाल इन्टरनेशनल र एमएस इन्टरनेशनल विजेताले भने सिङ्गापुरमा हुने ‘मिसेस इन्टरनेशनल’ मा भाग लिन पाउनेछन्।

मिसेस वर्ल्ड २०२२ मा नेपालको तर्फबाट दिक्षा केसीले, र २०२३ मा पृथ्वीया थापाले सहभागिता जनाएका थिए। थापाले सो प्रतियोगितामा ‘मिसेस ह्युमनिटेरियन’ उपउपाधि पनि प्राप्त गरेकी थिइन्। यस वर्ष डेनिला कार्कीले मिसेस वर्ल्ड २०२५ मा नेपालको प्रतिनिधित्व गर्नेछिन्। साथै, विगतका वर्षजस्तै यस वर्ष पनि नेपाली फिल्म क्षेत्रमा सक्रिय एक ख्यातिप्राप्त अभिनेत्रीलाई मानार्थ ‘मिसेस नेपाल’ उपाधिबाट सम्मान गरिने आयोजकले जनाएको छ।

सम्बन्धित समाचार

सबै