विजयको ‘जनै हराएको मान्छे’ले के गर्ला वक्सअफिसमा ?

0 Shares

नेपाली फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुँदैछ। बलियो कलाकार समूह रहेको यस फिल्मको मुख्य भूमिकामा विजय बराल छन्।

बराल ती अभिनेता हुन्, जसले ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ मा मुख्य भूमिका निर्वाह गरेका थिए। ‘पूर्ण बहादुरको सारङ्गी’ मा पूर्णबहादुर गन्धर्व भूमिकामा देखिएका उनको अभिनयको चौतर्फी प्रशंसा भएको थियो।

यो फिल्म नेपालमा हालसम्मकै सबैभन्दा धेरै ग्रस कलेक्सन गर्ने फिल्म बनेको छ, जसले देशभित्र र बाहिर गरी करिब पौने एक अर्ब रुपैयाँको व्यापार गरेको थियो। उक्त ऐतिहासिक सफलतापछि विजय बरालको अर्को फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ मा प्रदर्शन हुँदैछ।

‘पूर्ण बहादुरको सारङ्गी’पछि विजयको मुख्य भूमिकामा आएको यो पहिलो फिल्म हो। यसले अघिल्लो फिल्मको जस्तै सफल हुन्छ की हुँदैन भन्ने विषयमा धेरैमा कौतुहलता छ।

निर्देशक हिमाल न्यौपानेका अनुसार फिल्म पनि परिवारका सदस्यबीचको भावनात्मक कथा हो र गाउँको परिवेशमा आधारित भएकाले दर्शकले मन पराउनेमा उनी ढुक्क छन्। विजय बराल पनि अघिल्लो फिल्मजस्तै गाउँको कथा, गरिबीको कथा, परिवारसँगको सम्बन्ध र अनुभवी पात्रका कारण दर्शकले मन पराउनेमा विश्वस्त छन्।

हिमाल न्यौपाने निर्देशित फिल्ममा ‘प्रेमगीत ३’ का अभिनेता मनिष राउत सह-निर्देशकको रूपमा छन्। राउतले यसअघि ‘प्रेमगीत ३’ मा मुख्य भूमिका निर्वाह गरेका थिए र अहिले निर्देशनतर्फ प्रवेश गरेका छन्।

फिल्ममा विजयसँगै मिरुना मगर, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतको अभिनय छ।

पेपरक्लिपको ब्यानरमा कमल न्यौपाने र विमल न्यौपानेको निर्माणमा बनेको फिल्मका कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन छन्।

थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको फिल्ममा नवीन गुरुङ डीओपी र कृष्ण परियार सिनेमेटोग्राफरका रूपमा छन्। कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्।

मुख्य सहायक निर्देशकमा दिनेशबहादुर राउत रहेका छन् भने तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशकका रूपमा छन्। निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन्।

फिल्मको वितरण गोविन्द शाहीको काफिया फिल्मसले गर्नेछ।

अलटाइम ब्लकबस्टर ‘पूर्ण बहादुरको सारङ्गी’पछि विजय बरालको मुख्य भूमिकामा आएको यस वर्षको पहिलो फिल्म यही हो।

सम्बन्धित समाचार

सबै