तीजको अवसरमा ‘सतीदेवी’ अमेरिकामा विशेष शो हुँदै

0 Shares

 ‘सतीदेवी’ फिल्म आगामी शनिबार, साउन ३१ गते (१६ अगष्ट) अमेरिकाको भर्जिनियामा विशेष प्रदर्शन गरिने भएको छ। महिलाको महान पर्व तीजको अवसरमा नारीहरुको सम्मानमा ‘सतीदेवी’ को विशेष शो आयोजना गरिँदैछ भन्ने जानकारी आयोजक पुष्कर पन्तले दिएका छन्।

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका पुष्कर पन्त नेपाली चलचित्र निर्माण, कलाकारिता र समाजसेवामा समेत सक्रिय छन्। उनले ‘सतीदेवी’ राष्ट्रिय स्तरमा थुप्रै पुरस्कार विजेता चर्चित फिल्म भएकाले विशेष शो गर्न लागिएको बताए।

‘सतीदेवी’ को धेरै चर्चा सुनेको र यस्ता मौलिक तथा पारिवारिक चलचित्रहरु अझ धेरै बन्नुपर्ने तथा धेरैले हेर्नुपर्ने भएकाले विशेष शो गर्ने निर्णय गरेको पुष्करले बताए। “हामी जहाँ भएपनि नेपाली कला, संस्कृति, मौलिकता र आफ्नोपनलाई बचाइराख्नका लागि सबैले पहल गर्नैपर्छ,” उनले भने।

एभरेष्ट सूर्य बोहराले निर्देशन गरेको हिट फिल्म ‘ठूली’ का निर्माता पन्तले आफूहरु ‘सतीदेवी’ हेर्न निकै उत्साहित रहेको बताए।

चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको राष्ट्रिय चलचित्र पुरस्कार–०८० मा विशेष चलचित्र पुरस्कार जितेको नारीप्रधान चलचित्र ‘सतीदेवी’ ले अहिलेसम्म राष्ट्रियसहित एक दर्जन उत्कृष्ट पुरस्कार जितिसकेको छ।

लक्ष्मण सुवेदीको लेखन, निर्माण र निर्देशनमा बनेको यस चलचित्रमा मलिका महत, रमेश बुढाथोकी, सन्दिपबाबु लोहनी, कुलबहादुर अधिकारी, सृजना अधिकारी, बालकलाकार हर्षिका वली र मञ्जिला बानीयाँ लगायतका कलाकारहरुको अभिनय रहेको छ।

गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा दिलासा क्रिएशन्सको प्रस्तुति रहेको यस चलचित्रको निर्माता दिलासा, सारा, श्रीदेवी र विशाल सुवेदी हुन्।

निर्देशक लक्ष्मण सुवेदीले ‘सतीदेवी’ को भर्जिनियापछि अन्य राज्यहरुमा पनि विशेष शो आयोजना गरिने जानकारी दिएका छन्।

सम्बन्धित समाचार

सबै