निर्माणको तयारीमा रहेको फिल्म ‘पार्वती’ मा दीपाश्री निरौला अनुबन्धित भएकी छन्। मंगलबार फिल्मको निर्माण टिमले उनलाई औपचारिक रूपमा अनुबन्ध गरेको हो। यस फिल्मकी अभिनेत्री तथा निर्देशक निता ढुङ्गाना अधिकारीले भनिन् कि दीपाश्रीसँग पहिले पनि मौखिक रुपमा कुराकानी भइरहे पनि मंगलबार कागजी सम्झौता सम्पन्न गरिएको छ।
निताले दीपाश्रीलाई अनुबन्ध गर्दा भनिन्, “हामीबीच सल्लाह सुझाव भइरहेको थियो, मौखिक रुपमा हामी सहमत थियौं। आज (मंगलबार) यो अन्तिम रूपमा टुंगियो। मेरो प्रोजेक्टमा दिदी हुनु मेरो लागि ठूलो कुरा हो।” उनले दीपाश्रीलाई नायिकाको रूपमा अनुबन्ध गरेको बताइन्।
अनुबन्ध पछि दीपाश्रीले १२ वर्षअघि नितासँगको सहकार्यलाई सम्झिइन्। “आजभन्दा १२ वर्षअघि, वि.स. २०७० मा ‘छ एकान छ’ मा हामीले एकअर्कालाई सहयोग गरेका थियौं,” दीपाश्रीले भनिन्, “१२ वर्षपछि फेरि भेट भयो र ‘पार्वती’ जस्तो फिल्ममा लिड रोल पाउनु मेरो लागि धेरै खुशीको कुरा हो। म सम्झिएकोमा धन्यवाद दिन्छु।”
निताले पनि १२ वर्षअघि आफूमाथि गरेको विश्वास सम्झेर र १२ वर्षपछि उनलाई आफ्नो निर्देशनमा पाउँदा खुसी व्यक्त गरिन्। दीपाश्री ‘छक्का पञ्जा’ टिमकी सफल निर्देशक तथा अभिनेत्री पनि हुन् र उनले निर्देशन गरेका फिल्महरू प्रायः सफल भएका छन्। त्यसैले यो फिल्ममा उनी अनुबन्धित हुनु विशेष महत्व राख्दछ।
दीपाश्री अनुबन्ध हुनु अघि चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रू’ का सरोज अधिकारी सहायक निर्देशकका रूपमा अनुबन्धित भइसकेका थिए। सफल अभिनेत्री तथा निर्देशक निता ढुङ्गाना अधिकारीले निर्देशन गर्न लागेको यस फिल्ममा उनी आफैं मुख्य भूमिका निभाउँदैछिन्।
यो फिल्मको छायांकन आगामी असोजदेखि सुरु हुने छ। निर्माण टिमले हालसम्म दुई वटा पोस्टर सार्वजनिक गरिसकेको छ र फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेको छ। फिल्म आगामी माघ १ गतेदेखि प्रदर्शनमा आउने छ। फिल्ममा निता र दीपाश्री बाहेक अन्य कलाकारहरूको नाम भने निर्माण टिमले हाल सार्वजनिक गरेको छैन। निर्देशक निताका अनुसार कलाकार र प्राविधिक टिमको जानकारी क्रमशः सार्वजनिक गरिनेछ।
फिल्मको कथा निताले लेखेकी हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका छन्। छायांकन कविर लाल र शाहिद लालले गर्नेछन्। फिल्ममा सावित्रा अधिकारी, नरहरी अधिकारी र पवन ढुंगानाले लगानी गरेका छन्।
निताले पहिलो पटक ‘ह्रस्वदीर्घ’ फिल्ममार्फत निर्माणमा पाइला टेकी थिइन्। यस पटक ‘पार्वती’ र ‘सुख–दुःख’ फिल्ममार्फत निर्देशनमा लाग्ने तयारीमा छिन्। वितरणको जिम्मा उपत्यकाभित्र रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले लिएका छन् भने उपत्यकाबाहिर एफडी कम्पनीले वितरण गर्नेछ।