प्रदर्शन अघि नै चर्चामा रहेको फिल्म झरी पछिको इन्द्रेणी को अष्ट्रेलिया राइट्स बिक्री भएको छ।
उक्त राइट्स अष्ट्रेलियामा रहेका नेपाली उद्यमी राम कार्कीले खरिद गरेका हुन्।
अष्ट्रेलियामा स्थापित राम कार्की शिक्षा तथा माइग्रेशन सेवामा सक्रिय हुनुका साथै मोर्टगेज ब्रोकर फर्म, एकाउन्टिङ फर्म र विभिन्न हस्पिटालिटी व्यवसायहरू सञ्चालन गर्दै आएका छन्। व्यवसायिक सफलताको साथै उनी नेपाली कला, संगीत, फिल्म र खेलकुद क्षेत्रप्रति पनि समान रूपमा समर्पित व्यक्ति हुन्।
कार्कीका अनुसार फिल्म नेपालसँगै अष्ट्रेलियाका प्रमुख शहरहरूमा रिलिज गरिनेछ। उनले भने, “यो फिल्म अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायका लागि मनोरञ्जनात्मक र सन्देशमूलक बन्नेछ भन्ने विश्वास छ।”
९ वर्षपछि पुनरागमन गरेका गणेश उप्रेतीको मुख्य भूमिका रहेको यस फिल्ममा निर्मल शर्मा, रमेश उप्रेती, दीपाश्री निरौला लगायतका कलाकारको पनि अभिनय छ। बालेन शाहको र्याप समावेश हुने चर्चाका कारण पनि फिल्म प्रतिक्षित बनेको हो।