‘कहाँ गयौ तिमी…’ फिल्म निर्माणको घोषणा

0 Shares

सहारा फिल्म्सको प्रस्तुति रहने फिल्म ‘कहाँ गयौ तिमी…’ को निर्माण शनिबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आधिकारिक रूपमा घोषणा गरिएको छ।

फिल्मलाई फिरोज तिमलसेनाले निर्देशन गर्नेछन्। यसलाई लभस्टोरी जनरामा निर्माण गरिने बताइएको छ। नामले प्रेमकथाको संकेत गरे पनि विस्तृत कथाबारे निर्माणपक्षले अहिले खुलासा गरेको छैन।

तर, टाइटल अनाउन्स्मेन्ट पोस्टरमा देखाइएको कालो बादल, एक्लो घर र रूखले छोडिएको मायाको वरिपरि कथा बुनिने संकेत गर्छ। टाइटलमा प्रयोग भएको कालो र रातो रङले शंका, प्रेम, आशा, विछोड र पुनर्मिलनको कथावस्तु संकेत गरेको देखिन्छ।

फिल्मको कथा जीवन आचार्यले लेख्नेछन् भने संगीत प्रकाश नेपालीले दिनेछन्।

फिरोज तिमलसेना टेलिभिजन होस्ट हुँदै निर्देशनमा प्रवेश गरेका हुन्। उनले नेपाल आइडल सिजन–१ मा रियालिटी प्रोड्युसर तथा एपिसोड डिरेक्टरको रूपमा काम गरेका थिए। उनी द भ्वाइस अफ नेपाल का संस्थापक, क्रिएटिभ हेड र चिफ एडीलगायत भूमिकामा समेत सक्रिय रहिसकेका छन्। साथै, उनी *‘दर्पण छाया–२’*मा अभिनय गरेका अभिनेता तथा गायक पनि हुन्।

इन्जिनियरिङलाई पेशा बनाएका उनी पछिल्ला वर्षहरू अमेरिकामा बस्दै आएका छन्। अब भने उनले चलचित्र निर्देशनमार्फत आफ्नो डेब्यु गर्न लागेका हुन्।

‘कहाँ गयौ तिमी…’ मा कलाकार र निर्माता को–को रहने भन्ने जानकारी निर्माणपक्षले अझै सार्वजनिक गरेको छैन। छायांकन, प्रदर्शन र अन्य टिमबारे चाँडै जानकारी दिने तयारी भइरहेको निर्देशक तिमलसेनाले बताए।

फिल्म घोषणा गर्दै उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्:
“शब्द र भावना भनेको घरमा काम लाग्छ भनेर जतन गरी राखेको सियो जस्तो रहेछ, चाहिने बेला कहिले फेला पर्दैन। आज फिल्म निर्देशनमार्फत नयाँ यात्राको सुरुवात गर्दा खुशी र जिम्मेवारी दुवै महसुस भएको छ। सम्पूर्ण टिमप्रति कृतज्ञता प्रकट गर्दै आगामी दिनमा फिल्मबारे थप जानकारी दिने प्रतिज्ञा गर्दछु।”

सम्बन्धित समाचार

सबै