नेपाली कथा साहित्यका चर्चित कथाकार गुरुप्रसाद मैनालीको प्रसिद्ध कथा ‘परालको आगो’ मा आधारित सिनेमाको औपचारिक वर्कसप आइतबारदेखि सुरु भएको छ । सिनेमालाई उत्कृष्ट बनाउन निर्माण पक्षले सबै कलाकारलाई एकै ठाउँमा भेला पारेर वर्कसप सुरु गरेको हो ।
वर्कसपमा मुख्य कलाकारहरू सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरु भण्डारी र रेणु न्यौपानेलगायत सहभागी छन् । उनीहरू आफ्नो चरित्रलाई थप जीवन्त बनाउन अभ्यासरत छन् ।
सिनेमाका निर्माता सुशील पोखरेल र लेखक सुशील देवकोटा पनि वर्कसपमा उपस्थित छन् । निर्माता पोखरेलले सिनेमालाई उत्कृष्ट बनाउन आफू प्रत्यक्ष रूपमा संलग्न भएको बताए । सिनेमाको निर्देशन लक्ष्मण सुनारले गर्दैछन् ।
सिनेमाका गीतहरूमा सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुतको शब्द रहनेछ भने संगीत शान्ति ठटाल, सत्य स्वरूप र प्रकाश सपुतले दिनेछन् । निर्माण पक्षका अनुसार, वरिष्ठ संगीतकार शान्ति ठटालसँग दुई महिनाअघि नै उहाँको निवासमै पुगेर संगीत प्रयोगको अनुमति लिइएको थियो ।
‘परालको आगो’ को छायांकन आगामी भदौ २६ गतेदेखि म्याग्दीका रमणीय स्थानहरूमा सुरु हुनेछ । छायांकन संकल्प भुजेलले गर्नेछन् । सिनेमाको प्राविधिक टोलीमा रामजी लामिछाने (नृत्य निर्देशन), सुलक्षण भारती (स्क्रिप्ट डक्टोरिङ), सुशील देवकोटा (लेखन) र नगेन्द्र घिमिरे (प्रोडक्सन म्यानेजर) रहेका छन् ।
स्मरण रहोस्, मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश ‘परालको आगो’ कथालाई करिब ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले पनि सिनेमा बनाएका थिए, जुन व्यावसायिक रूपमा सफल भएको थियो । नयाँ संस्करणको प्रदर्शन मिति भने निर्माण पक्षले अझै सार्वजनिक गरेको छैन ।