‘हरिबहादुरको जुत्ता’ सिनेमाले आफ्नो पहिलो गीत सार्वजनिक गरेको छ ।
प्रकाश सपुत र समिक्षा अधिकारीको स्वरमा रहेको गीत ‘बेला बितेसी’ सार्वजनिक गरिएको हो। गीतमा प्रकाश सपुतको शब्द, संगीत र श्याम स्वेत रसाइलीको मिक्सिङ/मास्टरिङ्ग रहेको छ। गायक तथा सर्जक सपुतले आफ्नो मौलिकपनको आभास गीतमार्फत् प्रस्तुत गरेका छन्।
मौसम हिमालीको कोरियोग्राफी रहेको गीतमा चलचित्रका मुख्य कलाकार प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर छन्। रोमान्टिक शैलीमा निर्माण गरिएको गीतको भिडियोलाई पवन सुस्लिङ्गले खिचेका हुन्, जसमा प्रकाश र स्वस्तिमाको प्रेम दृश्य देख्न सकिन्छ। यसअघि सार्वजनिक चलचित्रका पोष्टरले पनि दर्शकको ध्यान खिचिसकेको थियो। यस गीतले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।
दिपेन्द्र के. खनाल निर्देशित चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्र दशैँको फूलपाती (असोज १३) बाट प्रदर्शनमा आउँदैछ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन्। चलचित्रलाई कृष्ण बहादुर थापाले खिचेका हुन् भने नकुल खड्काले सम्पादन गरेका छन्। वसन्त सापकोटा, दिपक शर्मा र प्रकाश सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ।