फिल्म मैझारोको सुटिङ सेटबाट अभिनेता दयाहाङ राईको लुक्स बाहिरिएको छ। फिल्मको छायांकन अन्तिम चरणमा पुगेको बेला उनले लिम्बू समुदायको भेषमा एक हातले तिर हान्दै गरेको लुक्स देखाइएको हो।
निर्माण पक्षले उनको भूमिका बारे केही खुलाएका छैनन्। यसअघि यो फिल्ममा दयाहाङ हुने नहुने बारे निर्माण पक्षले केही स्पष्ट गरेको थिएन। तर अब यो फिल्ममा दयाहाङ राई अनुबन्ध भएको पुष्टि भएको छ। निर्देशक विल्सन बिक्रम राईले दर्शकलाई सरप्राइज दिएका छन्।
यो फिल्मको छायांकन साउनको पहिलो हप्ताबाट इलाममा सुरु भएको थियो र मौलिक प्रेम कथामा आधारित छ। फिल्ममा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभय राज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकार रहने भनिएको थियो। तर दयाहाङको बारेमा निर्माण पक्षले कुनै आधिकारिक जानकारी दिइएको थिएन। अब, दयाहाङको मुख्य भूमिका रहने पक्का भएको छ।
निर्माण पक्षले फिल्मको छायांकन अहिले अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। निर्देशक राईकै कथामा निर्माण भइरहेको यो फिल्मको छायांकन नेपालको पूर्वी इलामका देउमाई नगरपालिका, पानीटार, जितपुर, साखेजुङ र पाँचथरका रमणीय स्थलहरूमा गरिएको छ।
विल्सन बिक्रमकै कथा र पटकथामा आधारित यो फिल्ममा संगीत अनमोल गुरुङ र तोरेम्पा हाङ राईको रहेको छ भने गायनमा राजेश पायल राई, झुमा लिम्बू, मेलिना राई, अस्मिता अधिकारी लगायतका कलाकारहरूको स्वर रहेको छ। सौरभ लामाले छायांकन गरेका छन्। फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ र डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ। मैझारो फिल्म तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको हो।
