अभिनेता धिरज मगरविरुद्ध निर्माता संघमा १४ करोडभन्दा बढी क्षतिपूर्तिको माग गर्दै ‘ऐरी’का निर्माताले उजुरी हालेका छन् ।
उनीविरुद्ध कुल १४ करोड ७९ लाख ५१ हजार ९ सय ५३ रुपैयाँ क्षतिपूर्तिको माग गरिएको छ ।
धिरजविरुद्ध २ भदौमा संघमा निर्माता कम्पनी मल्टिम्याट प्रालिका तर्फबाट कमलबहादुर आलेले उजुरी दिएका हुन् । संघका अध्यक्ष नवल खड्काले यसको पुष्टि गरेका छन् ।
सहमतिअनुसारको समयमा धिरज फिल्मको छायांकनमा उपस्थित नहुँदा फिल्मलाई उक्त रकम बराबर क्षति पुगेको उजुरीमा उल्लेख छ ।
मगरलाई १० लाख रुपैयाँ पारिश्रमिकमा यो फिल्ममा अनुबन्ध गरिएको थियो, जसमा निर्माण पक्षले धिरजलाई ४ लाख रुपैयाँ पारिश्रमिक सुरुमै उपलब्ध गराएको थियो ।
निर्माता संघमा उजुरी दिनुअघि कानुन व्यवसायीमार्फत धिरजलाई लिगल नोटिस पठाइए पनि उनी सम्पर्कमा नआएको समेत जनाइएको छ ।
‘ऐरी’को छायांकनका लागि मगरले कुल ४१ दिन समय दिने सम्झौता गरे पनि केवल १६ दिन मात्र दिएको निर्माण पक्षको आरोप छ ।
उजुरीपछि संघमा दुबै पक्षलाई बोलाएर मिलापत्रको प्रयास गरिने अध्यक्ष खड्काको भनाइ छ भने, त्यहाँ कुरा नमिलेमा दुबै पक्ष कानुनी बाटोमा जानेछन् ।
सुटिङमा नगरी कता गए त धिरज?
‘इन्टु मिन्टु लन्डनमा’बाट नेपाली रजतपटमा डेब्यू गरेका धिरजको छवि शालीन अभिनेताको रुपमा रहँदै आएको थियो । उनी हालसम्म कुनै प्रकारको विवादमा मुछिएका थिएनन् । यो उजुरीले फिल्मी वृत्तका धेरैलाई अचम्ममा पारेको छ ।
यसरी यत्रो मागदाबी हुनेगरी उजुरी परेका धिरज सुटिङमा नआए कता गएका थिए त?
मेरो पिक्चरलाई प्राप्त जानकारी अनुसार ठूलो बजेट र नेपालीसहित अन्य भाषामा समेत रिलिज गरिने भनिएको यो फिल्मको छायांकन खासै अगाडि बढ्न सकेको छैन । सुटिङका लागि एक महिना ढोरपाटन बसेको भए पनि केही दिन मात्र सुटिङ हुनसकेको बताइन्छ ।
सुटिङमा अलमल भएकै कारण धिरजले यो फिल्म छाडेर ‘मैझारो’को छायांकनमा पुगेको बताइन्छ । यस हुनुको पछाडि ‘ऐरी’को छायांकन समयमा सुरु नहुनु पनि एक कारण मानिएको छ । यस्तै ‘माइतीघर’को सुटिङ तालिकाले पनि यसमा असर गरेको बताइन्छ ।
यस बारेमा बुझ्न खोज्दा अभिनेता मगरसँग सम्पर्क स्थापित हुन सकेन ।
१४ करोडको क्षतिपूर्ति केका लागि मागे त निर्माताले?
अभिनेता धिरजविरुद्ध कुल १४ करोड ७९ लाख ५१ हजार ९ सय ५३ रुपैयाँ क्षतिपूर्तिको माग गरिएको छ । यत्रो रकम केका बापत र के आधारमा मागिएको हो त?
मल्टिम्याटले धिरजले निर्माताको लाखौं रुपैयाँ निर्माणको क्रममा र करोडौं रुपैयाँ फिल्म परियोजनाका क्रममा क्षति पुर्याएको भन्दै यति ठूलो रकम क्षतिपूर्तिको माग गरेको हो । मल्टिम्याट प्रा.लिका सञ्चालक कमलबहादुर आलेले यो उजुरी दिएका हुन् ।