‘जनै हराएको मान्छे’को प्रिमियर : कसले के भने ?

0 Shares

फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ ले प्रिमियरमा पुगेकाहरूको मन जितेको छ। बुधबार नयाँबानेश्वरस्थित वान सिनेमाजमा आयोजना गरिएको प्रिमियरमा उपस्थित अधिकांश दर्शक भावुक भएका थिए।

प्रिमियरमा अग्रज कलाकार सुनिल थापा, वरिष्ठ छायाँकार गौरीशंकर धुंजु, अभिनेता जितु नेपाल, कवि तथा गीतकार विप्लव प्रतीक, कलाकार कमलमणि नेपाल, कलाकार लोकेन्द्र लेखक, नायक किरण श्रेष्ठ, पटकथा लेखक प्रदीप भारद्धाजलगायत फिल्म क्षेत्रका चर्चित व्यक्तिहरूको उपस्थिति थियो।

उपस्थित कलाकार तथा आगन्तुक दर्शकहरू फिल्मको कथासँग भावनात्मक रूपमा जोडिएका थिए। चलचित्र हेरेपछि धेरैजना भावुक हुँदा कतिपयले आँसु थाम्न सकेनन्। अभिनेत्री केकी अधिकारी र गायक अञ्जु पन्तलगायत कलाकार फिल्म हेर्दा रोइरहेका थिए।

फिल्मले बुवा–आमा र दाजुभाइबीचको सम्बन्ध, सम्झना र जिम्मेवारीलाई नोस्टाल्जिक ढंगले प्रस्तुत गरेको प्रतिक्रियामा दर्शकहरूले आँसु थाम्न नसकेको बताएका छन्। धेरै दर्शक आँसु पुछ्दै हल बाहिरिएको दृश्य देखिएको थियो। उनीहरूले फिल्मले मन छोएको र आफ्नै परिवारको सम्झना दिलाएको प्रतिक्रिया दिएका छन्।

दर्शकहरूको भनाइअनुसार, बुवा–आमाले छोराछोरीका लागि गर्ने सम्झौता र छोराछोरीले निभाउनुपर्ने जिम्मेवारीको कथा हेर्दा जीवनका कठिनाइ र परिबन्ध देखेर आँसु रोक्न कठिन भएको छ।

फिल्मले सम्बन्धको महत्व, सपना पूरा गर्न गरिने संघर्ष र पारिवारिक मूल्यलाई मार्मिक ढंगले प्रस्तुत गरेको कारण यसलाई दर्शकहरूले भावनात्मक रूपमा बलियो कृति मानेका छन्।

भोलिदेखि प्रदर्शनमा आउने यो फिल्ममा केकी अधिकारी, विजय बराल, मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायत कलाकारको अभिनय छ।

‘पूर्णबहादुरको सारंगी’ जस्तो अलटाइम ब्लकबस्टरपछि विजय बरालको मुख्य भूमिकामा आएको यो वर्षको पहिलो फिल्म हो।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। कार्यकारी निर्माता नारायण तिमल्सिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन हुन्।

थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीले संगीत दिएका छन्। फिल्मको छायांकन नवीन गुरुङ र कृष्ण परियारले गरेका हुन्।

फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक र तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश केसी सहायक निर्देशक हुन्। निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन्।

गोविन्द शाहीको काफिया फिल्मसले फिल्म वितरण गर्ने जिम्मा लिएको छ।

सम्बन्धित समाचार

सबै