‘बोक्सीको घर’ ब्लकबस्टर भएपछि अभिनेत्री केकी अधिकारी व्यस्त बनेकी छन्।
एकपछि अर्को फिल्म प्रदर्शन भइरहेको क्रममा अब भदौ ६ गते उनकाे नयाँ फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ रिलिज हुँदैछ।
यसमा उनी मुख्य पात्र विजय बरालको दिदीको भूमिकामा छिन्। भाइको जीवन सही बाटोमा लागोस् भनेर आफू श्रीमानको दमन र खप्की सहेर बस्ने दिदीको पात्रमा देखिएकी छिन्।
उनी आफ्नो दुःख लुकाएर अरूको खुसीका लागि बाँच्ने पात्र हुन्। जब भाइले दिदी घरेलु हिंसा सहेर बसिरहेको थाहा पाउँछ र प्रतिकार गर्न खोज्छ, उनी भाइलाई कराउँछिन्। त्यो आफू अँध्यारोमा बसेर अरुलाई उज्यालो दिने चाहनाले भएको संकेत हो।
फिल्मको ट्रेलरमा पनि उनी भाइका लागि आफ्ना सपनाहरू बिर्सने पात्रका रूपमा देखिएकी छिन्।
यस पात्रको पृष्ठभूमि उनकाे दयालु स्वभाव र बाध्यताको दुष्चक्रसँग सम्बन्धित छ। यथार्थमा उनी सपना खोज्दै गाउँ छोडेर काठमाडौं आएकी युवतीको रूपमा देखिन्छिन्।
केकीले आफू फिल्ममा सानो उमेरमै ठूलो सपना बोकेर काठमाडौं आएकी गाउँले युवतीको भूमिकामा रहेको बताएकी छिन्।
“तर, समय र परिस्थितिले उसलाई यस्तो मोडमा पुर्याउँछ, जहाँ उसलाई आफ्ना सपना नै सम्झना हुँदैन। यस्ता धेरै महिला आज काठमाडौंमा हुनुहुन्छ,” केकी भन्छिन्, “त्यस्ता महिलामध्ये एकको पात्र मैले यस फिल्ममा निभाएकी छु।”
भदौ ६ गते रिलिज हुने यो फिल्ममा केकी र विजयसँगै मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायत कलाकारको अभिनय छ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। कार्यकारी निर्माता नारायण तिमल्सिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन हुन्।
थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीले संगीत दिएका छन्। फिल्मको छायांकन नवीन गुरुङ र कृष्ण परियारले गरेका छन्।
फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक र तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश केसी सहायक निर्देशक हुन्। निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन्।
गोविन्द शाहीको काफिया फिल्मसले वितरण गर्ने जिम्मा लिएको छ।
‘पूर्णबहादुरको सारंगी’ जस्तो अलटाइम ब्लकबस्टरपछि विजय बराल मुख्य भूमिकामा देखिन लागेको यो वर्षको पहिलो फिल्म हो।