असोज १३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘माइतीघर’को प्रचार–प्रसार जोडतोडका साथ चलिरहेको छ। यता, फिल्मको निर्माण पक्षले यसको शीर्ष गीतको छायांकन सकेको छ।
एउटै गीतका लागि ११ दिन लगाएर छायांकन गरिएको निर्माता रोहित अधिकारीले बताएका छन्। यसअघि यो गीतको छायांकन बाग्लुङमा पनि गरिएको थियो। तर, निर्माण पक्षले त्यतिबेला खिचिएका कुनै पनि दृश्य प्रयोग नगरी सबै दृश्य नयाँ शैलीमा नै खिचिएको अधिकारीले बताएका छन्। गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन्।
गीतको भिडियो खिच्नका लागि ५० लाख रुपैयाँ खर्च भएको निर्माता अधिकारीको दाबी छ। भिडियोमा फिल्मका मुख्य कलाकार उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाले नृत्य गरेका छन्। साथै, कोरसको ठूलो टोलीलाई नचाइएको छ, जसका कारण लागत बढेको निर्माण पक्षको भनाइ छ। यो फिल्म रोहित अधिकारी फिल्म्सको व्यानरमा निर्माण भएको हो।
एउटा ऐतिहासिक गीत भएकै कारण भिडियो मेकिङमा कुनै सम्झौता नगरिएको निर्माताको दाबी छ।
यो गीतको भिडियो आउँदो साता सार्वजनिक गर्ने तयारी गरिएको छ। निर्माण पक्षले यो गीतमा ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो बनाउनमा सहभागी हुने मध्येको एक उत्कृष्टलाई ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा पनि गरिसकेको छ। गीतमा भारतीय गायिका सञ्जिवनीको स्वर रहेको छ।
मिलन तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा केदारप्रसाद घिमिरे, प्रकाश सपुत, धिरज मगर, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरूको अभिनय छ।
फिल्मको कथा चन्द्रकुमार दोङको हो भने पटकथा तथा संवाद रामशरण पाठकले लेखेका हुन्। सुशन प्रजापतिको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन छ। रविन शेरचन र धिरज तामाङको लगानीमा बनेको यस फिल्मका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन्।