लक्ष्मण रिजालको निर्देशनमा निर्माण हुने सिनेमा ‘काजी’को शुभमुहूर्त सम्पन्न भएको छ।
शुक्रबार दक्षिणकाली मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गरिएको थियो। निर्माण टिम शुभमुहूर्तसँगै छायांकनको लागि स्याङ्जा निस्केको छ।
निर्देशक लक्ष्मण रिजालका अनुसार, भदौ ८ गते आइतबारबाट छायांकन सुरु हुनेछ। उनले करिब ८ वर्षपछि निर्देशनमा फर्किएको बताए। आफूले खोजेको जस्तै स्क्रिप्ट पाएपछि निर्देशनमा फर्कन तयार भएको रिजालले बताए। उनले यसअघि ‘कसम’, ‘धुँवा यो नसा’, ‘अलविदा’, ‘कायरा’ लगायतका सिनेमा निर्देशन गरेका थिए भने ‘डिसेम्बर फल्स’ र ‘गणपति’ निर्माण गरेका थिए।
आरएण्डआर प्रोडक्सनको व्यानरमा निर्माण हुने यो सोसल लभस्टोरी सिनेमालाई राम प्रसाद रिजालले निर्माण गर्दैछन्। उनी यस सिनेमामा आफ्नो अघिल्ला चलचित्रमा देखिएका कमजोरो पक्षलाई सुधार्दै उत्कृष्ट बनाउने प्रयास रहने बताउँछन्। छायांकनको लागि स्याङ्जामा लाखौं खर्च गरेर एउटा गाउँको सेट निर्माण गरिएको उनले जानकारी दिए।
सिनेमामा विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा लगायतका कलाकारको अभिनय रहनेछ। अन्य कलाकार को-को रहेका छन् भन्ने जानकारी निर्माण टिमले क्रमशः सार्वजनिक गर्ने योजना बनाएको छ।
सिनेमाको कथा प्रदीप भारद्धाजले लेखेका हुन् भने छायांकन चिन्तनराज भण्डारीले गर्दैछन्। गीतसंगीत कालिप्रसाद बास्कोटाले तयार पारेका हुन्। सिनेमालाई सुनिल मानन्धरको श्रीराम बालाजी फिल्म्स्ले वितरण गर्नेछ।