चलचित्र जनै हराएको मान्छे: सम्बन्धका धागाहरू निर्माणपक्षले आफ्ना बुवाआमालाई हलमा लगेर देखाउन आग्रह गरेको छ। शनिबार बुवाको मुख हेर्ने दिनको अवसरमा छोराछोरीले आफ्ना बुवाआमालाई हलमा लगेर देखाउने आग्रह निर्माण पक्षले गरेको हो।
“शनिबार बुवाको मुख हेर्ने चाड छ। हाम्रो चलचित्रले बुवाआमाको खुसीका लागि छोराले गर्ने संघर्षको कथा देखाउँछ। त्यसैले, कोही छोराछोरीले आफ्ना बुवाआमालाई हलमा लगेर देखाउँछ भने त्यो नै बुवाको मुख हेर्ने दिनको सच्चा उपहार हुनेछ,” चलचित्रका मुख्य कलाकार विजय बरालले भने। “सायद यो भन्दा ठूलो उपहार अरु केही हुँदैन। जुन छोराछोरीले आफ्ना बुवाआमालाई यो सिनेमा देखाउँछन्, त्यो नै अमूल्य उपहार हुनेछ।”
अभिनेत्री केकी अधिकारीले छोरीहरूले चाहेर पनि बुवा, भाइ तथा माइतीका लागि गर्न नसक्ने अवस्थालाई चलचित्रले देखाएको बताउँदै, बुवाको मुख हेर्ने दिन छोरीहरूले यो सिनेमा बुवालाई देखाउनुपर्ने बताइन्।
“हाम्रो समाजमा कतिपय अवस्थामा आर्थिक अवस्था कमजोर हुँदा र सामाजिक परिवन्धले माइतीलाई सहयोग नगर्ने अवस्थामा हुन्छ,” केकी भन्छिन्। “चलचित्रले देखाउँछ कि छोरी कसरी बुवासँग छुटेर टाढा पुग्छिन् र भाइसँगको सम्बन्ध कस्तो रहन्छ। छोरीहरूले खुलेर कुरा गर्न नसक्ने अवस्था देखाउन पनि बुवाको मुख हेर्ने दिन यो सिनेमा देखाउनुपर्छ।”
अभिनेत्री मिरुना मगरले दर्शक अनुभव साझा गर्दै भनिन्, “हाम्रो समाज अन्तरमुखी छ। धेरै कुरा मनमा राख्छौं तर अभिव्यक्त गर्न सक्दैनौं। दर्शकले यो फिल्मले आफ्नो मनको कुरा बोलेको भन्दै धन्यवाद दिएका छन्।”
लाविम महल, सिटी स्क्वायर, सिभिल महल, एफक्युबलगायतका हलमा पुगेका विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, भोलाराज सापकोटा लगायत कलाकारहरूले दर्शक प्रतिक्रिया लिए। दर्शकले सिनेमाले बुवाआमालाई सम्झाएको र नोस्टाल्जिक बनाएको प्रतिक्रिया दिएका थिए।
शुक्रबारबाट रिलिज भएको जनै हराएको मान्छे: सम्बन्धका धागाहरूलाई हलमा दर्शकबाट उत्कृष्ट वर्ड–अफ–माउथ प्रतिक्रिया मिलिरहेको छ। पारिवारिक उतारचढाव देखाएको चलचित्रलाई दर्शकले आफ्नै जीवनसँग रिलेट गरिरहेका छन्।
चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतको अभिनय रहेको छ।
हिमाल न्यौपानेको निर्देशनमा बनेको चलचित्रको असोसिएट निर्देशक ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत हुन्। पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। कार्यकारी निर्माता नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन्।
चलचित्रमा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको छ। डीओपी नवीन गुरुङ र सिनेमेटोग्राफी कृष्ण परियारले गरेका छन्। कथा, पटकथा र संवाद भानुभक्त ढकालको रहेको छ। मुख्य सहायक निर्देशक दिनेशबहादुर राउत हुन् भने अन्य सहायक निर्देशकहरूमा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी रहेका छन्। चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन्।
चलचित्र गोविन्द शाहीको काफिया फिल्मसले वितरण गर्नेछ।
अलटाइम ब्लकबस्टर चलचित्र पूर्णबहादुरको सारंगीपछि विजय बरालको मुख्य भूमिका रहेको यो वर्षको पहिलो चलचित्र हो।