कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवद्वारा ‘फिल्म स्टोरी बैङ्क’ प्रतियोगिता घोषणा

0 Shares

 कर्णाली प्रदेशको सांस्कृतिक, भाषिक र पर्यटकीय सम्पदा विश्वसामु चिनाउने लक्ष्यसहित सुरु गरिएको तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०८२ अन्तर्गत ‘फिल्म स्टोरी बैङ्क’ प्रतियोगिता शुक्रबार काठमाडौंमा औपचारिक रूपमा घोषणा गरिएको छ।

काठमाडौंको नेपाल पर्यटन बोर्डमा सम्पन्न कार्यक्रममा महोत्सव सल्लाहकार तथा मध्यपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार डा. महेन्द्र कुमार मल्लको अध्यक्षता थियो। कार्यक्रममा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही प्रमुख अतिथि थिए। त्यस्तै, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशी, गुराँस गाउँपालिका, दैलेखका अध्यक्ष टोप बहादुर बिसी, चलचित्र अभिनेता, निर्माता तथा लेखक दीपक राज गिरी, हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मी, कर्णाली चिनाउने कन्टेन्ट क्रियटर सृजना सिज्जु, नेपाल पर्यटन बोर्डका प्रबन्धक सूर्य थपलिया लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा महोत्सव निर्देशक चक्र बहादुर चन्दले ‘फिल्म स्टोरी बैङ्क’ प्रतियोगिताको लक्ष्य, उद्देश्य र महत्वबारे जानकारी दिँदै कर्णालीका लुकेका कथा, इतिहास, संस्कृति र सामाजिक यथार्थलाई चलचित्रमार्फत उजागर गर्न यो अभियान सुरु गरिएको बताए।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले कर्णालीलाई पर्यटकीय गन्तव्यका रूपमा विश्वमा चिनाउन कथाको महत्व औंल्याए। उनले भने, “कर्णालीका माथिल्ला क्षेत्रहरूमा पैसा तिरेर जानुपर्ने कुराको प्रचार भयो भने संसारभर त्यहाँको आकर्षण बढ्छ। कर्णालीलाई अझ चिनाउन नीति निर्माणमा काम गर्न आवश्यक छ। कथाबाट कर्णालीलाई चिनाउन सकिन्छ।”

चलचित्र अभिनेता तथा निर्माता दीपक राज गिरीले चलचित्र नै कर्णालीलाई विश्वसामु चिनाउने उत्कृष्ट माध्यम भएको बताए। उनले भने, “कर्णाली अझ सुन्दर छ भनेर देखाउन चलचित्र सबैभन्दा उत्तम माध्यम हो। कथाको महत्व अदृश्य रूपमा अत्यन्त शक्तिशाली छ। आजको दिनमा चलचित्रमा कथा वाचन कमजोर हुँदैछ, यस्तो अवस्थामा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले कथाको बैङ्क सुरु गर्नु सराहनीय छ।”

पूर्व मुख्यमन्त्री जीवन बहादुर शाहीले यस अवधारणालाई पहिलो पटक सुनेको भन्दै सरकारको सहयोगको पहल गर्ने प्रतिबद्धता जनाए। “यसरी कथाको सङ्कलन गरी चलचित्र निर्मातासम्म पुर्‍याउने अवधारणा पहिलो पटक सुनेँ। महोत्सवलाई कर्णाली सरकारबाट सहयोगको पहल अगाडि बढाउँछु। कर्णालीमा चलचित्र छायाङ्कनका लागि पूर्वाधार निर्माण गर्न वातावरण तयार पार्न सघाउँछु। विदेशी तथा स्वदेशी चलचित्र छायाङ्कनको लागि सहज वातावरण बनाउने पहल गर्छु,” उनले भने।

महोत्सव सल्लाहकार डा. मल्लले कर्णालीको मौलिकताका आधारमा यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने बताए। “यसअघि यसरी कथाको खोजी भएको थिएन। नेपालको मौलिकता चिनाउन पर्दा कर्णाली पहिलो नम्बरमा आउँछ,” उनले भने।

महोत्सव अन्तर्गत सुरु गरिएको ‘फिल्म स्टोरी बैङ्क प्रतियोगिता’मा नेपाल वा विदेशमा रहेका कुनै पनि नेपाली नागरिक सहभागी हुन सक्नेछन्। प्रस्तुत गरिएको कथा मौलिक हुनुका साथै पहिले कतै प्रकाशित वा चलचित्रमा प्रयोग नभएको हुनुपर्नेछ। कथा कर्णालीको संस्कृति, परम्परा, इतिहास वा सामाजिक यथार्थमा आधारित हुनुपर्नेछ।

उत्कृष्ट तीन कथालाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ भने उत्कृष्ट १५ कथाका लेखकलाई चलचित्र स्क्रिप्ट लेखन तालिम दिइनेछ। ती मध्ये छनोट गरिएका उत्कृष्ट कथालाई चलचित्र निर्माणमा समावेश गरिनेछ र लेखकलाई ‘कथा लेखक’को श्रेयसहित उचित पारिश्रमिक दिइनेछ।

कथा पेस गर्ने अन्तिम म्याद २०८२ पुस १६ गते तोकिएको छ। नतिजा २०८२ माघ १८ गते सार्वजनिक गरिनेछ। चलचित्र स्क्रिप्ट लेखन तालिम २०८२ फाल्गुन १३ गते हुने र पुरस्कार वितरण समारोह फाल्गुन २३ गते आयोजना गरिनेछ। कथा महोत्सवको इमेल ठेगाना [email protected] मा पठाउनुपर्नेछ।

‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ अभियानअन्तर्गत सञ्चालन भइरहेको कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले कर्णालीलाई विश्व स्तरीय चलचित्र पर्यटन गन्तव्य बनाउने लक्ष्य राखेको छ। महोत्सवले जलवायु परिवर्तन र दिगो पर्यटनजस्ता सामाजिक तथा वातावरणीय मुद्दामा समेत ध्यान केन्द्रित गर्दै आएको छ।

सम्बन्धित समाचार

सबै