सिनेम्याटोग्राफर शैलेन्द्रध्वज कार्की बने निर्देशक, `पोखरेली मसिनो´ निर्देशन गर्दै

0 Shares

कुशल छायाँकार शैलेन्द्रध्वज कार्कीले अब निर्देशनमा हात हाल्ने भएका छन्। थुप्रै हिट र सुपरहिट फिल्मलाई आफ्नो विशेष छायांकन शैलीमार्फत सफल बनाइसकेका कार्कीले आफ्नै डेब्यु निर्देशनमा ‘पोखरेली मसिनो’ नामक फिल्म निर्माण गर्न लागेका हुन्।

सोमबार ललितपुरको बंगलामुखी मन्दिरमा विधिवत् पूजाआजासहित फिल्मको शुभमुहूर्त सम्पन्न गरिएको छ। बाबु–छोरीको सम्बन्ध र संघर्षमा आधारित सामाजिक कथामा बन्ने यस फिल्मलाई कार्की र उनकी अभिनेत्री पत्नी शान्ति गिरीले संयुक्त रूपमा निर्देशन गर्नेछन्। निर्माण कार्य भने कार्की स्वयंले गर्ने जनाइएको छ।

कार्कीले चामलको लोकप्रिय प्रजाति मनसरापछि चामलकै अर्को प्रजातिको नाममा पोखरेली मसिनो शीर्षकमा फिल्म बनाउन लागेका हुन्। फिल्ममा शान्ति गिरीको लेखन तथा शैलेन्द्र–शान्तिको पटकथा रहनेछ।

शुभमुहूर्त कार्यक्रममा निर्माता÷निर्देशक दिपेन्द्र गौचन, कलाकार टिका पहाडी, परिक्षा लिम्बु, अविरल प्रताप अधिकारी, उपेन्द्र सुब्बालगायतको सहभागिता थियो। सुटिङका लागि मंगलबार पोखरा प्रस्थान गरिने र बुधबारदेखि छायांकन थालिने बताइएको छ। फिल्म छायांकनका लागि ३० दिनको कार्यतालिका तय गरिएको छ।

फिल्ममा टिका पहाडी, प्रवीण खतिवडा, परिक्षा लिम्बु, माओत्से गुरुङ, अनिल सुब्बा, अंकित खड्का, सजन थापा मगर, अभय बराल, अविरल प्रताप अधिकारी, हिउँवाला गौतमलगायतका कलाकारले अभिनय गर्नेछन्।

आगामी वर्षको बडा दशैंलाई लक्षित गरी रिलिज गरिने यस फिल्ममा श्रवण मुकारुङको गीत, कालीप्रसाद बास्कोटाको संगीत, शंकर मर्हजनको द्वन्द्व निर्देशन, कार्की स्वयंको डीओपी (छायांकन), र निमेष श्रेष्ठको सम्पादन रहनेछ। करिब तीन करोड रुपैयाँको लगानीमा फिल्म निर्माण हुने जनाइएको छ।

सम्बन्धित समाचार

सबै