प्रतिक्षित फिल्म ‘जेरी अन टप’ को टिजर सार्वजनिक

0 Shares

असोज ३१ गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को प्रतिक्षित फिल्म ‘जेरी अन टप’ को टिजर सार्वजनिक भएको छ। निर्माण ब्यानर अनन्या फिल्मस्ले सोमबार राजधानीमा एक विशेष कार्यक्रम आयोजना गर्दै फिल्मको पहिलो प्रचार सामग्री सार्वजनिक गर्‍यो।

कार्यक्रममा प्रमुख कलाकार अभिनेता अनमोल केसी, अभिनेत्रीद्वय आँचल शर्मा र जसीता गुरुङ, हास्य अभिनेता केदार घिमिरे ‘माग्नेबुढा’, अभिनेता भुवन केसी, तथा उषा खड्गी मिडियाको केन्द्रमा रहे। निर्देशक सुयोग गुरुङले सम्पूर्ण टिमको अथक मेहनतको परिणाम दर्शकसमक्ष ल्याउन लागेको भन्दै सहयोगको अपेक्षा व्यक्त गरे।

सार्वजनिक गरिएको १ मिनेट ५२ सेकेन्ड लामो टिजरले फिल्मको कथावस्तुको झलक दिने प्रयास गरेको देखिन्छ। सुयोग गुरुङ निर्देशित यस फिल्मको कथा विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण र यात्राको क्रममा बन्ने प्रेमकथामा आधारित छ।

सरोज न्यौपानेको प्रस्तुतिमा बनेको फिल्म ‘जेरी अन टप’ को निर्माणमा न्यौपानेसँगै रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी लगानी साझेदार छन्। कथा हेमराज बिसीको हो।

फिल्मको कार्यकारी निर्माता अनुराधा गिरी र इश्वर श्रेष्ठ रहेका छन् भने एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का छन्। फिल्ममा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ। पटकथा विश्वास तिम्सिनाले तयार गरेका हुन् भने छायांकन दुलिप रेग्मीले गरेका छन्।

हङकङको एलजी एसोसिएट्सले (अष्ट्रेलियाबाहेक) अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेको छ भने नेपालमा रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण अधिकार लिएका छन्। महँगो लागतमा बनेको यस फिल्मलाई यो वर्षको अत्यन्त प्रतिक्षित फिल्म मानिएको छ।

सम्बन्धित समाचार

सबै