फरक शैलीमा आएको भोजपुरी फ्लेभरको गीत ‘लड्की गोरी’ले फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ को हाइप बढाएको छ। सुरुमा एआई निर्मित भिडियोमार्फत प्रचार गरिएको यस सिनेमाको कन्टेन्ट हालै सार्वजनिक भइसकेको छ।
एक साताअघि सार्वजनिक भएको गीत *‘लड्की गोरी’*ले मधेस र मधेसी समाजको प्रतिनिधित्व गर्दै चर्चा कमाएको छ। ११ लाख भ्युज पाइसकेको यस गीतलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। दर्शक तृष्णा घतानीले युट्युबमा लेखेकी छिन् : “म खासै भोजपुरी गीत सुन्दिन तर यो अलि रिफ्रेसिङ रहेछ। मजा आयो। प्रेरणा सिंह र प्रशान्त सिवाकोटीको आवाज मिठो छ, किरण श्रेष्ठको नृत्य पनि राम्रो।”
भोजपुरी लवज भए पनि गीत नेपाली भाषामा छ भने भिडियोले टिपिकल भोजपुरी शैलीलाई चित्रण गरेको छ। बजारमा देखिने सामान्य भोजपुरी गीतभन्दा फरक भएकाले दर्शकले मन पराइरहेका छन्। दर्शक जीवन मल्लले कमेन्ट गरेका छन् : “यो डान्स र अडियो बबाल छ, निड मोर एप्रिसिएसन। छाडा छैन, रमाइलो छ।”
पछिल्लो ट्रेन्डअनुसार डान्सिङ नम्बर लोकप्रिय भइरहेको अवस्थामा *‘लड्की गोरी’*लाई पनि दर्शकले खुलेर मन पराइरहेका छन्। यस गीतको सफलता फिल्म ‘अभिमन्यु’ लाई प्रत्यक्ष लाभ पुगेको छ। निर्माता नन्दु गैरेले लेखेका छन् : “यो गीत हिट भयो भने यो फिल्म पनि हिट हुन्छ, ढुक्क हुनुहोला।”
नेपाली फिल्मले तराईबासीलाई उपेक्षा गरेको आरोप लगिँदै आएको भए पनि ‘अभिमन्यु’ भने यसबाट भिन्न देखिएको छ। मोरङ र तराई भूभागमा खिचिएका दृश्यहरू, मुख्य कलाकारहरू तराईबासी हुनु, र तराईकै कथा समेटिनु यसका प्रमाण मानिन्छ। दर्शक धनबहादुर कनुवारले लेखेका छन् : “यो गीतले गर्दा तराईबासी पनि चलचित्रमा जोडिन सक्छन्। निकै नयाँपन अनि मिठास छ।”
फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ भदौ २७ गते नेपालमा प्रदर्शन हुँदैछ भने यसको हिन्दी भर्सन असोज ६ (सेप्टेम्बर २२) मा वर्ल्डवाइड रिलिज हुनेछ। फिल्मले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा प्रस्तुत गर्नेछ।
पोस्ट–प्रोडक्सनमा रहेको यस फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला लगायतका कलाकारले अभिनय गरेका छन्।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको यो फिल्मलाई सुशान्त गौतमले निर्देशन गरेका हुन्। यो उनको डेब्यु निर्देशन हो। मुकेश खनालको लेखन रहेको फिल्मको क्रिएटिभ निर्देशक मदन थापा हुन्।
फिल्मका निर्मातामा विनोद पौडेल र गुञ्जन गिरी छन् भने रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता हुन्। कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्। लाइन प्रोड्युसर जीवन शाक्य हुन्। फिल्ममा शरद महतोको छायांकन (DOP), मनोज श्रेष्ठको VFX, सुप्रिम पराजुलीको कलर ग्रेडिङ, र मदन घिमिरेको सम्पादन रहेको छ।