यसअघि ‘रङ्गेली’ फिल्म निर्देशन गरेका तथा चाँडै प्रदर्शनमा आउन लागेको फिल्म ‘सोल्टिनी’का निर्देशक अर्जुन सुवेदीले आफ्नो नयाँ फिल्म ‘कन्यादान’ निर्माण गर्ने घोषणा गरेका छन्। सामाजिक संवेदनशील विषयलाई केन्द्रमा राखेर बन्ने यस फिल्मले विधवा महिलाको जीवन र समाजले दिने चुनौतीलाई पर्दामा उतार्ने तयारी गरेको छ।
फिल्मको सार ‘हरेक विधवाले दोस्रो अवसर पाउनुपर्छ’ भन्ने रहेको निर्देशक सुवेदीले बताए। उनका अनुसार, समाजका कठोरता र परम्परागत मान्यतालाई चुनौती दिँदै दोस्रो ‘कन्यादान’ प्राप्त गरी पुनः प्रेम र जीवन जिउने अधिकार दिने प्रसङ्ग यसमा देखाइनेछ।
यसको लेखन कुमार भट्टराई र अर्जुन सुवेदीले संयुक्त रूपमा गरेका हुन्। फिल्मलाई आगामी वर्ष रिलिज गर्ने लक्ष्य लिइएको छ। फिल्म निर्माणमा प्लानेट थ्री फिल्म्स मुख्य निर्माण संस्था रहनेछ भने सुभकाशा पिक्चर्स र ट्राइडेन्ट कन्सेप्ट सहनिर्माताको रूपमा रहनेछन्।
फिल्मको प्रस्तुतकर्तामा रेजिना बिस्ट, कार्यकारी निर्मातामा मार्टिन ओली, छायांकन निर्देशनमा सुसन प्रजापति, सङ्गीतमा प्रशान्त सिवाकोटी, प्रोजेक्ट हेडमा सुजन खतिवडा, पोस्टर तथा पब्लिसिटी डिजाइनमा रोयल भीमसेन, र डिजिटल वितरणमा ओएसआर डिजिटल रहनेछन्।
यसअघि ‘कन्यादान’ शीर्षकमा फिल्म बनेका भए पनि सुवेदीले निर्देशन गर्ने ‘कन्यादान’ भने नयाँ कथामा बन्नेछ। घोषणासँगै सार्वजनिक गरिएको पोस्टर कन्सेप्च्युअल डिजाइनमा आधारित छ। पोस्टरमा देखाइएको महिलाको साङ्केतिक तस्बिरले समाजमा विधवाले भोग्ने मौन पीडा र पुनः जीवनप्रतिको चाहना दुवैलाई प्रतिबिम्बित गर्छ।
