पोस्टर सार्वजनिक गर्दै चलचित्र ‘सोल्टिनी’ को नयाँ रिलिज मिति घोषणा गरिएको छ।
प्रकाश सपुत र परीक्षा लिम्बु स्टारर यो चलचित्र अब कार्तिक ६ गते भाइटिकाको दिन प्रदर्शनमा आउनेछ।
यस चलचित्रमा रोचक कुरा के छ भने, कार्यकारी निर्माताको रूपमा जनउत्तरदायित्वका लागि सक्रिय ‘हर्क साम्पाङ रिभोलुसन एन्ड टिम’ रहेको छ।
यस समूहको नेतृत्व धरान महानगरपालिकाका मेयर हर्क साम्पाङले गरेका छन्। चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गरेका छन्, जसमा प्रकाश र परीक्षासँगै विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडा लगायतका कलाकारहरूले अभिनय गरेका छन्।
चारवटा फरक–फरक पोस्टरहरूले चलचित्रको कथावस्तु प्रेम, संस्कृति र ग्रामीण परिवेशमा आधारित रहेको जनाउँछन्। एक पोस्टरमा नायक–नायिकाको रोमान्टिक केमेस्ट्रीलाई विशेष रूपमा प्रस्तुत गरिएको छ।
एक पोस्टरमा नायिका परीक्षा लिम्बु परम्परागत भेषभूषा र गहनामा सजिएकी देखिन्छिन्। अर्को पोस्टरमा ग्रामीण परिवेशमा पुल पार गर्दै हाँसिरहेका नायक–नायिका देखिन्छन्।
प्राकृतिक सौन्दर्य र गाउँको जीवनशैलीलाई प्रस्ट्याउने यो दृश्यले कथामा ग्रामीण सौन्दर्य र सरल जीवनको प्रस्तुति हुने आभास दिन्छ। एक सामूहिक पोस्टरमा नायक–नायिकासहित अन्य पात्रहरूलाई समेत समेटिएको छ, जहाँ लोकसंस्कृति, नाचगान र हास्यमनोरञ्जनको आभास पाइन्छ।
यस चलचित्रले दर्शकलाई फरक स्वादको कथासँग जोड्ने निर्देशक सुवेदीले दाबी गरेका छन्। चलचित्रले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावविरुद्ध आवाज उठाउनेछ भने दुई प्रमुख पात्रबीचको प्रेमकथा यसको मुख्य आकर्षण रहेको छ।
निर्देशक सुवेदीले यसअघि ‘रंगेली’ नामक फिल्म निर्देशन गरेका थिए, जो व्यापारिक रूपमा असफल बनेको थियो भने समीक्षामा पनि बिर्सनलायक ठहरिएको थियो। यस्तोमा सुवेदीलाई यसपटक पहिलो प्रयासमा पछारिए पनि कुशल कथावाचक रहेको प्रमाणित गर्नुपर्ने चुनौती रहेको छ।
यो चलचित्र इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका रमणीय दृश्यहरूमा छायाङ्कन गरिएको छ।
‘सोल्टिनी’ का गीतहरूमा संगीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले दिएका छन् भने छायाङ्कन सुशन प्रजापतिले गरेका हुन्। चलचित्रलाई अर्जुन सुवेदी र कुमार भट्टराईले लेखेका हुन्। प्लानेट थ्री फिल्म्स र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बनेको हो।
चलचित्रका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन् भने रोशन चौलागाईँ, वसन्त कटुवाल र सुजन अधिकारी सह–निर्माता हुन्।
रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले पोस्टर तथा पब्लिसिटी डिजाइन गरेका छन् भने टी फल्क्स फिल्म्सले नेपालमा वितरण गर्नेछ। चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।
