सुरक्षाको ‘धागो’ कार्तिक २८ मा नेपाल–भारतमा एकसाथ रिलिज हुने

0 Shares

अभिनेत्री सुरक्षा पन्तको प्रमुख अभिनय रहेको नेपाली फिल्म ‘धागो’ आउँदो कार्तिक २८ गते (नोभेम्बर १४) नेपाल र भारतका हलमा एकसाथ रिलिज हुने भएको छ। शुक्रवार पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले फिल्मले परिवार, सीमा र नटुट्ने सम्बन्धको कथा प्रस्तुत गर्ने बताए।

फिल्मलाई उदिप राणा थापाले निर्देशन गरेका हुन्। डुवर्सको चिया बगानमा जन्मे–हुर्केका उदिपसँग १८ वर्षसम्म बलिउडमा क्रिएटिभ हेड, निर्देशक र प्रोड्युसरको रूपमा काम गरेको अनुभव छ। यद्यपि ‘धागो’ उनका लागि पहिलो फिचर फिल्म हो। निर्देशक उदिपले भने, “मेरो सफलताको श्रेय मेरा आमाबुवाको त्याग र डुवर्सका जनताको आशीर्वादलाई जान्छ। ‘धागो’ मेरो माटो र मेरा मान्छेहरूको कथा हो। यसमार्फत मैले हाम्रो समाजका अनगिन्ती धागोहरूलाई जोड्ने प्रयास गरेको छु।”

फिल्मले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, उनीहरूको आपसी भावनात्मक सम्बन्ध र सांस्कृतिक धागोलाई केन्द्रमा राखेको छ। प्रमुख भूमिकामा सुरक्षा पन्तसँगै भारतको वेस्ट बंगाल डुवर्सका प्रभात थापा र मिस दार्जिलिङ तथा मिस नर्थ ईस्ट भारत विजेता सुरभि थापा देखिनेछन्। बुद्धि तामाङ, सुनिल थापा, रबिन सान्संकर, दीप क्षेत्री, प्रज्ञा थापा, बाबु प्रधान, सेवन विश्वकर्मा, राजीव भुसाल, आइशा तामाङ, पप्पु विश्वकर्मा लगायतका कलाकारहरूले अभिनय गरेका छन्। अभिनेत्री वर्षा राउतले विशेष केमियो भूमिका निर्वाह गरेकी छन्।

छायांकन निर्देशक बलिउडका अनिकेर एम. घोघ हुन्। सम्पादनमा अखिलेश राय, कस्ट्युम डिजाइनमा बिनु प्रधान, भीएफएक्समा अनुरूप केर्टकेट्टा, रंग संयोजनमा अनिन्दिया एस. राय, साउन्ड डिजाइनमा अमित त्रिवेदी, कोरियोग्राफीमा कविराज गहतराज र बसन दर्जी, कन्सल्टेन्ट एडिटरमा कमलेश पराउ र ब्याकग्राउण्ड स्कोरमा निर्मल पन्याले योगदान दिएका छन्।

संगीतकार तथा गीतकार चर्चित गायक पुष्पन प्रधान हुन्। शीर्ष गीत मन्चारी र रजिन सान्संकरले कम्पोज गरेका छन्। गायक–गायिकामा पुष्पन प्रधान, आकाङ्क्षा थापा, बाबुता मंगर, बिके परियार, उमेश क्षेत्री, जुनु गौतम र रजिन सान्संकर रहेका छन्।

फिल्म ‘धागो’ फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट इन्डियाले निर्माण गरेको हो। निर्मातामा उमा थापा, उत्तम थापा र उदिप थापा छन् भने सह–निर्मातामा प्रभात थापा, समीर तामाङ र राजेश क्षेत्री रहेका छन्। सुपरभाइजिङ प्रोड्युसर वहिद एम. मुन्सुरी र उदय थापा रहेका छन्। प्रोडक्सन म्यानेजर सुरज तोप्पो र प्रोडक्सन कन्ट्रोलर सबिन थापा हुन्। निर्देशन टिममा नम्रता रोय, देवा, राघव मुदालियर र सुरभि थापा रहेका छन्।

डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको ‘धागो’ नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ। यस फिल्मले सीमामा बाँधिएका नेपालीहरूको जीवन र भावनात्मक धागोलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै