दिनेश राउतको ‘कुमारी’ घोषणा, धेरैपछि ‘बिग बजेट’ फिल्ममा नयाँ अनुहार

0 Shares

 निर्देशक दिनेश राउतले आफ्नो नयाँ चलचित्र ‘कुमारी’ घोषणा गरेका छन्।

काठमाडौंको टुँडिखेलमा आयोजित भव्य कार्यक्रममा चलचित्रको पहिलो पोस्टर सार्वजनिक गरिएको थियो। यसै अवसरमा मुख्य कलाकार अबिशेक खड्का र आकृति राजभन्डारी प्रस्तुत गरिएका थिए।

कार्यक्रममा गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’ को प्रस्तुतीले उत्सवलाई अझ रौनकिलो बनाएको थियो। लिम्बुले यस फिल्मबाट पार्श्व गायनमा डेब्यु गर्दै गीत ‘कहाँ छौ’ प्रस्तुत गरे।

‘आइ एम सरी’ बाट निर्देशन सुरु गरेका राउत ‘नोभेम्बर रेन’‘क्लासिक’ जस्ता प्रेमकथामा आधारित सफल चलचित्रका लागि परिचित छन्। यसअघि उनले ‘पर्व’, ‘महाभोज’, ‘प्रसाद’, ‘प्रकाश’, ‘पुजार सार्की’ जस्ता सामाजिक विषयवस्तुमा आधारित फिल्म पनि निर्देशन गरेका छन्। दर्शकको चाहनाअनुसार फेरि प्रेमकथामा फर्किएको उनले बताए।

कास्टिङका हिसाबले यसपटक दिनेशले नयाँ अनुहारलाई मौका दिएका छन् । यसरी ठूलो निर्देशक र ठूलो बजेटमा यसप्रकारले नयाँ अनुहारलाई मौका दिइएको यो धेरैपछि हो । जुनप्रकारले फिल्मको घोषणा गरियो त्यो पनि आफैंमा विशेष हो । धेरैले होस्टलको पछिल्लो श्रृखंलाले धेरै अनुहारलाई ब्रेक दिएको झैं लाग्नसक्छ तर यो फिल्मले एकप्रकारले सामाजिक संजालमा पहिल्यै नै फ्यानबेस बनाएका अनुहारलाई डेब्यू गराएको हो ।

‘कुमारी’ को निर्माण बिनिश इन्टरटेन्मेन्टले गरिरहेको छ, पिक्चर फ्रेमको सहकार्य रहनेछ। निर्माता महेन्द्र अधिकारी हुन् भने कथा विकास सुवेदीले लेखेका छन्। चलचित्रमा अबिशेक र आकृतिबाहेक घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, भूपी लुहार लगायतका कलाकारको अभिनय रहनेछ।

चलचित्रको सङ्गीत केहर सिंह लिम्बु, सुमन तामाङ र प्रशान्त सिवाकोटीले दिनेछन्। सबै गीतमा स्वर केहरले नै दिनेछन्। गीतका शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका छन्। पोस्टर डिजाइन रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट) र पोस्टर फोटोग्राफी राजभाई सुवालले गरेका छन्।

छायाङ्कन यसै हप्तादेखि काठमाडौंमा सुरु हुँदैछ र यसै वर्ष प्रदर्शन गर्ने योजना रहेको निर्माण टिमले जनाएको छ। डिजिटल वितरण केन्द्र मोशन पिक्चर्सले गर्नेछ भने काठमाडौं उपत्यकामा डीसीएन, उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले थिएट्रिकल वितरण सम्हाल्नेछ।

सुसन प्रजापतिको छायाङ्कन निर्देशन, कार्यकारी निर्माता केदार भुसाल, प्रोडक्सन डिजाइनर आशिका शर्मा, मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत रहनेछन्। अन-स्क्रिन कविता रिया अधिकारीले रचना गरेकी छन्। रङ्ग संयोजन सुप्रिम पराजुली, साउन्ड डिजाइन उत्तम न्यौपाने, कोरियोग्राफी किरण थापा रहनेछ।

पब्लिसिटी डिजाइन रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट), मिडिया/पब्लिसिटी एक्जिक्युटिभ जीवन पराजुली, कस्ट्युम डिजाइनर अञ्जली रिजाल, प्रोडक्सन म्यानेजर मनोज जोशी, प्रोडक्सन कन्ट्रोलर विदुर मानन्धर र सुदीप ढकाल, मेकअप आर्टिस्ट समारा जोशी, हेयर स्टाइलिस्ट सरस्वती श्रेष्ठ, सहायक निर्देशक तर्कराज न्यौपाने, राजेश राज गिरी र आयुष दाहाल रहनेछन्।

सम्बन्धित समाचार

सबै