दक्षिण कोरियाको विश्वप्रसिद्ध बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ३०औँ संस्करणमा नेपाली लघु फिल्म ‘रिहाना’ ले आफ्नो वर्ल्ड प्रिमियर गर्ने भएको छ। यस वर्षको यस प्रतिष्ठित महोत्सवमा ‘रिहाना’ एक मात्र नेपाली प्रतिनिधित्व हो।
फेस्टिभलले जारी गरेको सूचनाअनुसार, फिल्मको विशेष स्क्रिनिङ असोज ५ र ६ गते (सेप्टेम्बर २१–२२) मा हुनेछ। यसपटक महोत्सवका लागि ३,०५९ वटा फिल्म पेस भएका थिए, जसमध्ये उत्कृष्ट १० मा ‘रिहाना’ पर्न सफल भएको हो।
फिल्मका निर्माता केदार भुसालले यस उपलब्धिले नेपाली कथालाई विश्वसामु पुर्याउने प्रयासलाई निरन्तरता दिएको बताए। उनले भने, “नेपालका फरक–फरक कथाहरूलाई फरक विधामा प्रस्तुत गर्दै विश्वभर पुर्याउने लक्ष्यका साथ काम गरिरहेका छौँ। ‘रिहाना’ को बुसान छनोटले मलाई अझ ठूलो हौसला र प्रेरणा दिएको छ।”
फिल्मलाई अ दुम्सी पिक्चर्स प्रोडक्सन ले निर्माण गरेको हो, जसमा मिराज मोशन पिक्चर्स, अन्डरग्राउन्ड टकिज र पिक्चर फ्रेम को सहकार्य रहेको छ। फिल्मको लेखन तथा निर्देशन सुरज पौडेलले गरेका हुन्। यसमा पृथु भट्ट र सृजना अधिकारीको मुख्य भूमिका छ। फिल्मलाई उज्ज्वल बस्ताकोटी, अभिनाश विक्रम शाह र केदार भुसालले निर्माण गरेका हुन् भने रोशनी अधिकारी कार्यकारी निर्माताका रूपमा रहेकी छन्।
शिशिर विशंखेको छायाङ्कन रहेको फिल्मको सम्पादन गौरव कुमार मुल्लिकले गरेका हुन्। कास्टिङ निर्देशकको जिम्मेवारी मदन श्रेष्ठले निभाएका छन्। त्यस्तै, साउन्ड डिजाइन र मिक्सिङ डिकेश खड्गी शाहीले गरेका हुन् भने रामलाल खड्का प्रोडक्सन डिजाइनरका रूपमा छन्। फिल्मको सह–लेखन शैलेश आरसी (एलएसएम) ले गरेका हुन्।
बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल विश्वकै प्रतिष्ठित महोत्सवमध्ये एक हो। विशेष गरी एसियाली फिल्मलाई विश्वसामु चिनाउने प्रमुख मञ्चको रूपमा यसले ख्याति कमाएको छ। नयाँ निर्देशक र फरक कथाशैलीलाई प्रोत्साहन गर्ने उद्देश्यले यसलाई ‘एसियाको क्यान्स’ पनि भनिन्छ।
यस महोत्सवमा छनोट हुनु कुनै पनि देश वा फिल्म निर्माताका लागि ठूलो उपलब्धि मानिन्छ। ‘रिहाना’ को यो सहभागिताले अन्तर्राष्ट्रिय फिल्म क्षेत्रमा नेपालको उपस्थिति थप मजबुत बनाउने अपेक्षा गरिएको छ।