यस वर्षको दसैँको फूलपातीको दिन रिलिज हुन लागेको नेपाली चलचित्र ‘बलिदान’ ले अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रको लागि नयाँ इतिहास रचेको छ।
सन्तोष सेनको निर्देशन र समीर भट्टको अभिनय रहेको यो बहुप्रतीक्षित चलचित्र पहिलो पटक अमेरिकाको सबैभन्दा ठूलो सिनेमा चेन एएमसी (AMC) मा प्रदर्शनमा आउन लागेको हो। निर्देशक सेनका अनुसार, ‘बलिदान’ अमेरिकाभरका २०० भन्दा बढी हलमा एक हजार भन्दा बढी शो सहित देखाइने अपेक्षा गरिएको छ।
यसअघि कुनै पनि नेपाली चलचित्र एएमसी चेनमा नचलेको इतिहासलाई तोड्दै ‘बलिदान’ ले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्याएको दाबी सेनले गरे। एएमसी मात्र नभई, सिनेमार्क, मार्कस र रेगलजस्ता अन्य प्रतिष्ठित अमेरिकी सिनेमा चेनहरूमा समेत ‘बलिदान’ प्रदर्शन हुने भएको छ।
यसअघि सार्वजनिक गरिएका पोस्टर र टिजरले नै चलचित्रप्रति व्यापक उत्साह जगाइसकेका छन्। चलचित्रमा समीर भट्टका साथै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी, सन्तोष सेन लगायतका कलाकारको अभिनय रहेको छ। आशुसेन फिल्म्सको प्रस्तुतिमा बनेको यस चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने कार्यकारी निर्माता प्रेम पुरी रहेका छन्। ‘बलिदान’ लाई नेपाली चलचित्र उद्योगको साहसी कदमका रूपमा लिइएको छ।
