मंसिर १३ गते शान्तिराम राईको एकल साङ्गीतिक साँझ हुने

0 Shares

 प्रतिष्ठित संगीतकार, गायक तथा लेखक प्राज्ञ शान्तिराम राईको एकल साङ्गीतिक साँझ हुने भएको छ । खोटाङ कलाकार समाजले ‘श्रष्टा सम्मान’ अन्तर्गत पहिलो पटक आयोजना गर्न लागेको यो कार्यक्रम आगामी मंसिर १३ गते काठमाडौंमा हुने समाजका अध्यक्ष रुपकुमार राईले जानकारी दिए ।

काठमाडौंमा एक विशेष पत्रकार सम्मेलन गर्दै अध्यक्ष रुपकुमारले खोटाङका अग्रज कलाकारलाई सम्मान गर्ने उद्देश्यले वार्षिक रूपमा एकल साङ्गीतिक साँझ आयोजना गर्ने योजना अघि बढाएको बताए ।

कार्यक्रमबारे बोल्दै प्राज्ञ शान्तिराम राईले आफ्नो संघर्ष र योगदानलाई कदर गर्दै यस्तो अवसर उपलब्ध गराएकोमा खोटाङ कलाकार समाजप्रति आभार व्यक्त गरे । उनले भने–
“मेरो जीवन नै संगीतमा समर्पित छ, बाँकी जीवन पनि संगीतमै बिताउनेछु । यो शान्तिराम राईको मात्र शो होइन, हामी सबै खोटाङ्गेको हो । भोलि यो शो असफल भयो भने खोटाङ्गेहरुको शिर झुक्नेछ ।”

पत्रकार सम्मेलनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराई, सांसद बिशाल भट्टराई, नेता विष्णु राई, व्यवसायी टंक श्रेष्ठलगायतले शुभकामना व्यक्त गरेका थिए ।

रेडियो नेपालमा २०४६ सालमा लोकगीततर्फ स्वर परीक्षा उत्तीर्ण गरेर औपचारिक रूपमा प्रवेश गरेका प्राज्ञ शान्तिराम राई निरन्तर ३६ वर्षदेखि संगीत सिर्जनामै सक्रिय छन् ।

हालसम्म १,५०० भन्दा बढी गीत सिर्जना गरिसकेका उनले आफ्नो एकल साङ्गीतिक साँझमा ‘तिमी तारे भीर म त लहरा’, ‘धोका दियौ तिमिले’, ‘छालहरू ओ छालहरू’, ‘आईडी कार्डैले’, ‘ए पहराकी फूल’ लगायत सदावहार गीत प्रस्तुत गर्नेछन् ।

कार्यक्रममा शान्तिराम राईका संगीतबद्ध गीतहरूलाई दीप श्रेष्ठ, सुक्मित गुरुङ, पवित्रा सुब्बा, राजेशपायल राई (Rai is King), मेलिना राई लगायत नयाँ–पुराना पुस्ताका गायक–गायिकाले प्रस्तुत गर्ने जानकारी आयोजकले दिएको छ ।

२०७७ सालमा स्थापना भएको खोटाङ कलाकार समाजले २०७९ सालमा प्रज्ञा भवन, कमलादीमा ‘खोटाङ साङ्गीतिक साँझ’ आयोजना गरेको थियो, जसमा १०० जना गायक–गायिकाले गायन र १०० जना नृत्याङ्गनाले नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै, १० वटै पालिकामा गायन र नृत्य प्रतियोगिता सञ्चालन गरी ‘पालिका प्रतिभा–२०८०’ कार्यक्रम सम्पन्न गरेको थियो ।

‘मुस्कुराउँछ सधैँ भरी मेरो खोटाङ’ सार्वजनिक

खोटाङ कलाकार समाजद्वारा निर्मित ‘मुस्कुराउँछ सधैँ भरी मेरो खोटाङ’ बोलको गीत पनि सार्वजनिक गरिएको छ । खोटाङका १११ जना कलाकारको स्वर रहेको यस गीतमा गीतकार टंक भट्टराईको शब्द, वरिष्ठ संगीतकार महेश खड्काको संगीत, देबेश राईको एरेन्ज तथा लिम्दुमी क्रिएसन स्टुडियोको रेकर्डिङ रहेको छ ।

यस गीतको म्युजिक भिडियो युवा पुस्तामा सक्रिय निर्देशक राजेश पुमा राईले निर्देशन गरेका हुन् । कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मुख्य प्रायोजक रहेको छ भने खोटेहाङ गाउँपालिका र ऐशलुखर्क गाउँपालिकाले समेत आर्थिक सहयोग गरेका थिए भन्ने जानकारी समाजका महासचिव पार्वन राई ‘राई बुढा’ले दिएका छन् ।

सम्बन्धित समाचार

सबै