
गायक यश कुमारले नयाँ गीत *‘हल्का हल्का’*को भिडियो सार्वजनिक गरेका छन्।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच म्युजिकल सिनेमाको रूपमा तयार गरिएको उक्त भिडियो रिलिज गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथि रहेका वरिष्ठ फिल्म निर्देशक तुलसी घिमिरेले गायक यश कुमारको काम गर्ने शैलीले आफू प्रभावित भएको बताए। उनले भने, “म पनि धेरै समयपछि नेपाली फिल्म निर्देशनमा कमब्याक गर्दैछु। त्यसका लागि आजको कार्यक्रममा सहभागी भएर धेरै कुरा सिक्ने अवसर पाएको छु।” साथै, उनले गायिका स्मिता दार्जिलिङको कालिङपोङबाट काठमाडौं आएर गायनमा जमेको देख्दा खुशी लागेको बताए र उनको भविष्य उज्ज्वल रहेको धारणा राखे।
गीतमा शब्द र संगीत गायक यश कुमारकै रहेको छ भने एरेञ्ज र मिक्सिङ देवेस राईले गरेका हुन्। भिडियोमा यश कुमार र स्मिताले नै मुख्य भूमिकामा अभिनय गरेका छन्। उनीहरूसँगै राजेज घतानी, दिपेन्द्र सोनम, सुगत करनजीत, तुलसा लिम्बु र सुदीप सोनमले पनि अभिनय गरेका छन्। भिडियोको निर्देशन यश कुमारले नै गरेका हुन्।
चर्चित डीओपी हरि हुँमागाईले खिचेको भिडियोमा सम्पादन तथा कलर विकास धमालाले गरेका छन् भने मेकअप तुलसा लिम्बुको रहेको छ। गीतको भिडियो यश कुमारले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्।