‘हरिबहादुरको जुत्ता’को दोस्रो गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक

0 Shares

दशैंको फूलपाती अर्थात् असोज १३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘हरिबहादुरको जुत्ता’को दोस्रो गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक गरिएको छ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको यस गीतमा आशिष अविरल र मेलिना राईको स्वर छ।

गीतमा सिनेमा का मुख्य कलाकार हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर्ड छन्। यसमा दानबहादुर कार्कीको शब्द रचना र दीपक शर्माको संगीत रहेको छ। लोक लयमा आधारित यस गीतको भिडियोमा किरण थापाको कोरियोग्राफी देख्न सकिन्छ। भिडियोमा प्रकाश र स्वस्तिमाले आकर्षक नृत्य प्रस्तुत गरेका छन् भने माया–प्रेम र नोकझोंकको कथा मार्फत आकर्षण र असहमतिको द्वन्द्व देखाइएको छ।

दीपेन्द्र के. खनालको निर्देशनमा बनेको यस सिनेमामा हरिवंश, प्रकाश र स्वस्तिमासहित प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतका कलाकारहरूको अभिनय रहेको छ।

हरिवंशले आफ्नै चर्चित पात्र हरिबहादुरलाई यस पटक पुनः पर्दामा उतारेका छन्। चोरको छवि बनाएको उक्त पात्रको भावनात्मक पाटो पनि यस सिनेमामा देखाइएको आचार्यले गीत रिलिज कार्यक्रममा बताए।

सरोज ओली र मोहितवंश आचार्यद्वारा निर्मित यस सिनेमामा कृष्ण बहादुर थापाको छायांकन र नहकुल खड्काको सम्पादन रहेको छ।

यसअघि सार्वजनिक गरिएको गीत ‘बेला बितेसी’ दर्शकमाझ लोकप्रिय बन्दै गएको छ। युट्युबमा २० लाखभन्दा बढी पटक हेर्नुका साथै यस गीतमा २ लाखभन्दा बढी टिकटक भिडियो बनेका छन्। केही दिनअघि मात्र सार्वजनिक गरिएको सिनेमाको टिजरले पनि दर्शकमाझ राम्रो हाइप सिर्जना गरेको छ।

सम्बन्धित समाचार

सबै