सौगातको नयाँ फिल्म ‘जूबा’को घोषणा, सार्वजनिक लुक्सले दियो फरक स्वादको आभास

0 Shares

 फिल्म ‘जूबा’ निर्माणको घोषणा गरिएको छ। अस्त्र फिल्मसको प्रस्तुति रहने यस फिल्मको मुख्य भूमिकामा सौगात मल्ल छन्।

प्रकाश कर्णको लेखन तथा निर्देशन रहने फिल्मको स्क्रिनप्ले तथा राइटर वर्षा पौडेल हुन्। क्रिएटिभ प्रोड्युसरमा निर्देशक कर्ण र राइटर वर्षा दुवै रहेका छन्।

फिल्ममा नायिकाको रूपमा सोफी धरेलले डेब्यु गर्ने भएकी छन्। सौगात र सोफीसँगै मुख्य भूमिकामा रहेका अर्का कलाकार सुधन पोखरेल हुन्। उनको यो तेस्रो फिल्म हो। यसअघि उनले दुईवटा फिल्ममा काम गरिसकेका छन्, तर ती रिलिज हुन भने बाँकी छ। मुख्य भूमिकामा भने उनको यो पहिलो फिल्म हो।

रक क्यास्टर स्टुडियोको निर्माण रहने यस फिल्म घोषणासँगै तीनवटा क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरिएको छ।

एउटा पोस्टरमा सौगात मल्ल मात्र छन्। उनी क्यामेरा अगाडि उभिएर नमस्ते गरिरहेका छन्। उनको लुक्स, गेटअप र ढंगले उनी अभिनेता भएको संकेत गर्छ।

अर्को पोस्टरमा उनी पी.सी.ओ.मा उभिएर फोनमा कुरा गरिरहेका छन्। ल्यान्डलाइन फोन र उनको र सोफीको गेटअपले यो फिल्मले दुई दशक अगाडिको कथा भन्ने संकेत गरेको छ। यसमा सोफी केही रिसाइरहेकी देखिन्छिन् भने सौगात गम्भीर मुद्रामा फोनमा कुरा गरिरहेका छन्।

तेस्रो पोस्टरमा सुधन देखिन्छन्, जो खलनायकको भूमिकामा छन्। चुरोट तानिरहेका उनको लुक्सले उनी खतरनाक भिलेन भएको स्पष्ट पारेको छ।

फिल्मको कथा, अन्य कलाकार तथा अन्य पक्षबारे भने निर्माण टिमले केही खुलाएको छैन।

सम्बन्धित समाचार

सबै