नेपाली चलचित्रका निर्माता, वितरक तथा हल सञ्चालक नरेन्द्र महर्जनले सञ्चालन गरेको कीर्तिपुर सिनेप्लेक्समा नयाँ अडिटोरियम थपिएको छ। ‘अडि–२’ नाम दिइएको उक्त हलको उद्घाटन बिहीबार चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले गरेका छन्।
सञ्चालक महर्जनका अनुसार, १०१ सिट क्षमताको ‘अडि–२’ मा बार्को प्रोजेक्टर, पल्सको ७.१ साउन्ड सिस्टम, लक्जरी सिट र थ्रीडी प्रविधि जडान गरिएको छ। चलचित्र संघका अध्यक्ष समेत रहेका महर्जनले कीर्तिपुर सिनेप्लेक्सलाई पहिलेको पुरानो ‘कीर्तिपुर हल’ पुनःनिर्माण गरी आधुनिक स्वरूपमा सञ्चालनमा ल्याएका हुन्।
उनका अनुसार, सुरुमा दुई पर्दे सञ्चालन गर्ने योजना भए पनि कोरोना महामारी लगायतका कारणले एक मात्र पर्दा सञ्चालनमा आएको थियो। दर्शकको चाप बढेसँगै सुविधालाई प्राथमिकता दिँदै दोस्रो पर्दा थपिएको हो।
महर्जनले भने, “हामीले केवल पर्दा मात्र थपेका छैनौँ, हललाई अत्याधुनिक सुविधासहित पूर्ण रूपमा आधुनिक बनाएका छौँ। अब दर्शकले आरामदायी वातावरणमा चलचित्रको मज्जा लिन सक्नेछन्।”