चलचित्र धागो को पहिलो गीत ‘ट्याउँ ट्याउँ’ सार्वजनिक

0 Shares

 अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहेको नेपाली चलचित्र धागो को पहिलो गीत ‘ट्याउँ ट्याउँ’ सार्वजनिक गरिएको छ। यो चलचित्र कार्तिक २८ गते (नोभेम्बर १४) मा नेपाल र भारतका हलमा एकसाथ रिलिज हुन लागेको छ।

गीतमा चर्चित गायक पुष्पन प्रधान र आकाङ्क्षा थापाको स्वर छ। शब्द र सङ्गीत पनि पुष्पन प्रधानकै रहेको गीत रमाइलो र नृत्यमय शैलीमा प्रस्तुत गरिएको छ। भिडियोमा बुद्धि तामाङ, वर्षा राउत, सुरक्षा पन्त, प्रभात थापा, सुरभि थापा लगायतका कलाकारहरू देखिएका छन्। कोरियोग्राफी भने चर्चित नृत्य निर्देशक कविराज गहतराजले गरेका हुन्।

गीत सार्वजनिक भएपछि चलचित्रप्रति दर्शकको चासो अझ बढ्ने निर्माण पक्षले जनाएको छ। निर्देशक उदिप राना थापाका अनुसार, नेपालमा युट्युब लगायतका सामाजिक सञ्जाल बन्द रहँदा पनि भारत र नेपाल दुवैलाई लक्षित गर्दै गीत रिलिज गरिएको हो। भारतको पश्चिम बंगाल, सिलिगुडीमा विशेष कार्यक्रम आयोजना गरी गीतको प्रिमियर गरिएको थियो।

उदिप राना थापाले बताए अनुसार चलचित्रले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, उनीहरूको आपसी भावनात्मक सम्बन्ध र सांस्कृतिक धागोलाई केन्द्रमा राखेको छ। यस चलचित्रमा सुरक्षा पन्तसँगै भारतको वेस्ट बंगाल डुवर्सका प्रभात थापा र मिस दार्जिलिङ तथा मिस नर्थ ईस्ट भारत विजेता सुरभि थापा प्रमुख भूमिकामा छन्।

साथै, बुद्धि तामाङ, सुनिल थापा, रबिन सान्संकर, दीप छेत्री, प्रज्ञा थापा, बाबु प्रधान, सेवन विश्वकर्मा, राजीव भुसाल, आइशा तामाङ, पप्पु विश्वकर्मा लगायतका कलाकारहरूले अभिनय गरेका छन्। अभिनेत्री वर्षा राउतले केमियो भूमिका निभाएकी छिन्।

चलचित्रको छायांकन निर्देशक अनिकेर एम. घोघा (बलिउड) ले गरेका हुन्। सम्पादन अखिलेश राय, कस्ट्युम डिजाइन बिनु प्रधान, VFX अनुरूप केर्टकेट्टा, रंग संयोजन अनिन्दिया एस. राय, साउन्ड डिजाइन अमित त्रिवेदी, कोरियोग्राफी कविराज गहतराज र बसन दर्जी, कन्सल्टेन्ट एडिटर कमलेश पराउ, ब्याकग्राउण्ड स्कोर निर्मल पन्या रहेका छन्।

चलचित्र धागो फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट इन्डियाले निर्माण गरेको हो। निर्मातामा उमा थापा, उत्तम थापा, उदिप थापा, सह–निर्मातामा प्रभात थापा, समीर तामाङ, राजेश क्षेत्री, सुपरभाइजिङ प्रोड्युसरमा वहिद एम. मुन्सुरी र उदय थापा रहेका छन्।

सम्बन्धित समाचार

सबै