
तिहारको भाइटीकामा रिलिजको तयारीमा रहेको फिल्म ‘वरिष्ठ बलराम’को पोस्टर सार्वजनिक भएको छ। सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको यस फिल्मका दुईवटा पोस्टर सार्वजनिक भएका हुन्।
पहिलो पोस्टरमा मुख्य कलाकार दयाहाङ राई र विजय बरालसँगै अन्य कलाकारहरू पनि देखिएका छन्। पोस्टरमा दयाहाङ र विजयले प्रमुख स्थान पाए पनि अन्य कलाकारलाई पनि समेटिएको छ। अनुहारको केही भाग मात्र देखिएका दयाहाङ सोचमग्न मुद्रामा छन् भने विजय केही रिसाएको भावका साथ कसैलाई नियालिरहेका छन्। पोस्टरमा समृद्धि अर्याल दन्तलहर देखाउँदै मुस्कानमा प्रस्तुत भएकी छन्। दयाहाङ, विजय र समृद्धिसँगै अन्य पाँच कलाकार पनि पोस्टरमा देखिन्छन्। उनीहरू तीनवटा बाइकमा कसैलाई पछ्याइरहेका देखिन्छन्। एउटा बाइक विजयले स्वयं चलाइरहेका छन् भने अर्को बाइक मधेसी गेटअपमा प्रदीप चौधरीले चलाइरहेका छन्।
यस पोस्टरले फिल्मको कथा के हो भन्नेबारे दर्शकमा कौतुहल सिर्जना गरेको छ।
दोस्रो पोस्टरमा दयाहाङ र विजय मात्र छन्। उनीहरू एकअर्काविरुद्ध उत्रिएका देखिन्छन्। घम्साघम्सी मुद्रामा देखाइएको यस पोस्टरले उनीहरू आफ्नो अस्तित्वका लागि संघर्ष गरिरहेको स्पष्ट पार्छ। पोस्टरले उनीहरू मध्ये एकले अर्कोलाई हराएर आफू ‘वरिष्ठ’ भएको प्रमाणित गर्न चाहेको संकेत गर्दछ।
पृष्ठभूमिमा राजमार्ग र टिपर देखिएको छ, जसले उनीहरू ठेक्कापट्टाको कामसँग सम्बन्धित भएको अनुमान गर्न सकिन्छ।
कात्तिक ६ गते भाइटीकामा रिलिज हुने ‘वरिष्ठ बलराम’ अहिले पोस्ट–प्रोडक्सनमा छ। यस फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारहरूको अभिनय रहेको छ।
निर्देशक पौडेलकै कथा र सम्पादन रहेको फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन्। वृषभ सिद्धी इन्टरटेनमेन्ट प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको यस फिल्मका निर्माता आशिष एच तामाङ र श्रीराज कार्की हुन्।
सामाजिक कथावस्तुमा आधारित यस फिल्मको छायांकन चितवनका विभिन्न स्थानमा गरिएको हो। मनकृष्ण महर्जनले छायांकन गरेका यस फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक हुन्। प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन रहेको छ।
फिल्मलाई काठमाडौं उपत्यकामा डीसीएनले र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गर्नेछ।