
अष्ट्रेलियामा बस्दै आएका गायक राईले यस वर्षको दसैँको अवसर पारेर आफ्नो नयाँ गीत ‘राई : दि जर्नी बिगन्स’ सार्वजनिक गरेका छन्।
सिद्धार्थ राई नाम भए पनि आफूलाई राई नाममै चिनाउन रुचाउने उनले यसै गीतमार्फत आफ्नो परिचयलाई ‘राई’ ब्रान्डमा स्थापित गर्ने प्रयास थालेका छन्। यसका लागि उनले “राई सधैँ राई, हामी नेपाली दाजुभाइ” भन्ने नारा पनि अघि सारेका छन्।
गायक राईका अनुसार गीतमा उनको व्यक्तिगत संघर्ष, आशा र सपनाको कथा प्रतिबिम्बित छ। उनले भने, “यो गीतमा मेरो आफ्नै कथा छ। शब्द र संगीतमार्फत् सपनाको पछि दौडिरहेका लाखौँ युवाको मनस्थिति प्रस्तुत गर्न खोजेको छु।”
नेपाली संगीतलाई विश्व स्तरमा चिनाउनुपर्ने सोचसहित उनले गीतलाई अमेरिका, युरोपसहित सात देशमा रेकर्ड गरेका थिए। तर अन्ततः अष्ट्रेलियामा रेकर्ड भएको संस्करणलाई नै सार्वजनिक गरिएको हो। गीतको निर्माणमा करिब ५० हजार अमेरिकी डलर खर्च भएको उनले जानकारी गराए।
अष्ट्रेलियामै खिचिएको भिडियोमा त्यहाँका सडक दृश्य र कन्सर्टको वातावरणलाई समेटिएको छ। यसअघि पनि उनले दर्जन हाराहारी गीत सार्वजनिक गरिसकेका छन्, जसमा प्रायः आफ्नै पहिचान ‘राई’लाई केन्द्रमा राखिएको पाइन्छ। उनको नयाँ गीत राईट्युन्स नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।