पर्वतबाट सुरु भयो फिल्म ‘क-का-कि-की’को छायांकन

0 Shares

 नयाँ फिल्म ‘ककाकिकी’को छायांकन सुरु भएको छ। बिहीबार बिहान शुभमुहूर्त गर्दै ३५ दिने तालिका तय गरेर निर्माण टिमले पर्वतको भूकदेउरालीबाट छायांकन सुरु गरेको हो। अबको २० दिनसम्म पर्वतमा गाउँको परिवेशका दृश्यहरू खिचिने छन्। त्यसपछि फिल्मको छायांकन काठमाडौंमा गरिने निर्देशक बिक्की अगरवालले जानकारी दिए।

हाल छायांकनमा फिल्मका अधिकांश कलाकार पुगेका छन्। अभिनेत्री तृप्ती नाडकर, रेखा थापा, दिया मास्के, सुभास गजुरेल, महेश त्रिपाठी, सुवर्ण थापा लगायतका कलाकार अहिले छायांकन स्थलमा छन्। अभिनेत्री गौरी मल्ल केही दिनमा टिममा सहभागी हुने जानकारी फिल्मकी अर्की निर्देशक श्रद्धा प्रसाईंले दिइन्। उनका अनुसार आजैदेखि फिल्मको छायांकन औपचारिक रूपमा सुरु भएको हो। अन्य केही कलाकार पनि बीचमा टिममा जोडिँदै जानेछन्।

फिल्म ‘ककाकिकी’ चर्चित हास्य शो ‘कमेडी दरबार’ टिमले निर्माण गर्न लागेको हो। ‘कमेडी दरबार’का निर्देशकद्वय बिक्की र श्रद्धाले नै फिल्मको संयुक्त निर्देशन गरिरहेका छन् भने कथा लेखनमा बिक्कीसँगै विकास अर्याल र सरोज भण्डारी छन्। फिल्मको स्क्रिनप्ले पनि बिक्कीको नै रहेको छ भने विश्वास तिम्सिना स्क्रिप्ट डाक्टरका रूपमा छन्। सह–निर्देशनको जिम्मा अनिश बुढाथोकीले लिएका छन् भने डीओपीको जिम्मा सुदीप बरालले सम्हालेका छन्।

निर्माण टिमले यसअघि साउनको दोस्रो हप्तामा फिल्मको एक पोस्टर सार्वजनिक गर्दै औपचारिक घोषणा गरेको थियो। उक्त पोस्टरमा अभिनेत्री रेखा थापा, गौरी मल्ल, तृप्ती नाडकर र अभिनेता महेश त्रिपाठीलाई अनौठो अवतारमा देखाइएको थियो, जसले फिल्मको कथा रहस्यमय रहेको संकेत गर्छ। फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ भने अन्तर्राष्ट्रिय अधिकार सेभेन सिज इन्टरनेशनलसँग रहेको छ।

सम्बन्धित समाचार

सबै