
कात्तिक ६ गते भाइटीकाको दिन प्रदर्शन हुने नेपाली फिल्म ‘सोल्टिनी’ले आफ्नो नयाँ गीत ‘नौलाख तारा’ सार्वजनिक गरेको छ। गीत लिरिकल शैलीमा तयार गरिएको छ, जसमा शब्द, सङ्गीत र स्वरको माधुर्यसँगै फिल्मको भावनात्मक कथावस्तु झल्किन्छ।
गीतमा झुमा लिम्बु, सुनिता थेगिम र प्रशान्त सिवाकोटीको स्वर रहेको छ। गीतका शब्द, सङ्गीत र सङ्गीत निर्देशन पनि प्रशान्त सिवाकोटीकै हुन् भने सङ्गीत संयोजन देवेश राईले गरेका हुन्।
‘नौलाख तारा’मा प्रयोग गरिएका दृश्य र तस्बिरहरूले फिल्मका मुख्य पात्र प्रकाश सपुत र परीक्षा लिम्बुबीचको प्रेममा देखा परेका पारिवारिक र सामाजिक अड्चनलाई प्रस्तुत गर्छन्। गीतको लिरिकल भिडियोमा ती भावनात्मक उतार–चढाव स्पष्ट रूपमा देखिन्छन्, जसले फिल्मको मूल कथावस्तुसँग प्रत्यक्ष सम्बन्ध जोड्छ।
‘सोल्टिनी’लाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन्। प्रकाश सपुत र परीक्षा लिम्बुसँगै सुन्दर धिताल, सब्बु गुरुङ, सुजन खतिवडा, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेलगायत कलाकारहरूको अभिनय रहेको छ।
यस फिल्ममा धरानका मेयर हर्क साम्पाङ नेतृत्वको ‘हर्क साम्पाङ रिभोलुसन एन्ड द टिम’ कार्यकारी निर्माता (Executive Producer) का रूपमा संलग्न रहेको छ। इलाम, कन्याम, बिर्तामोड, पथरी र भोजपुरलगायतका रमणीय स्थलमा छायाङ्कन गरिएको ‘सोल्टिनी’ले समाजमा विद्यमान जातीय विभेद, अमानवीयता र प्रेममा आउने सामाजिक अड्चनविरुद्ध आवाज उठाउने उद्देश्य लिएको निर्देशक सुवेदीले बताएका छन्।