‘चिराग’ फिल्मको ‘फूल बनि फुल्थें’ गीत सार्वजनिक

0 Shares

आगामी मंसिर ५ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ नेपाली फिल्म चिरागको फूल बनि फुल्थें गीत सार्वजनिक गरिएको छ। उक्त गीत हाइलाइट्स नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा दीपक लिम्बु र अस्मिता अधिकारीको स्वर रहेको छ भने शब्द र संगीत फिल्मका लेखक तथा निर्देशक त्यागमूर्तिकै हुन्।

प्रेमभावमा आधारित गीतको भिडियो पूर्ण VFX प्रयोग गरेर निर्माण गरिएको छ। भिडियोमा त्यागमूर्ति र संकला गौतम फिचर्ड छन्। यसअघि सार्वजनिक पोस्टरमा त्यागमूर्ति फरक अवतारमा—तेस्रोलिंगीको भूमिकामा—देखिएका थिए, तर यस गीतमा उनी पुरुषको भूमिकामा प्रस्तुत भएका छन्।

त्यागमूर्ति फिल्मका मुख्य कलाकार समेत हुन्। आइतबार काठमाडौंको अनामनगरस्थित किम्ची रेस्टुरेन्टमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने,

“चिरागमा तेस्रोलिंगी समुदायलाई नेपाली फिल्म इतिहासमै फरक तरिकाले प्रस्तुत गरिएको छ। हामीले हेर्दै आएका फिल्ममा उनीहरूलाई सानो वा नेगेटिभ भूमिकामा देखाइन्छ, तर चिरागमा त्यो परिभाषा नै परिवर्तन हुनेछ।”

फिल्मको ट्यागलाइन “आशाको चिराग कहिल्यै निभ्दैन” रहेको छ।
फिल्ममा त्यागमूर्तिसँगै सुशील पोखरेल, प्रज्ञा जोशी, शुभास गजुरेल, दामोदर भण्डारी, शेरबहादुर डीसी, संकला गौतम, नरेश प्रसाद भट्ट, मनोज आचार्य, माधवा खनाल, मिनाक्षी खनाल र बाल कलाकार सागर खरेल लगायतका कलाकारले अभिनय गरेका छन्।

फिल्मको सह–लेखन नरेश प्रसाद भट्ट र संकला गौतमले गरेका छन् भने निर्माता संकला गौतम, नरेश प्रसाद भट्ट र त्यागमूर्ति स्वयं हुन्। हरिनन्दा ब्यानरमा निर्माण भएको यस फिल्ममा पार्श्वसंगीत लोकनाथ सापकोटा, मिक्सिङ आशिष सुनुवार, छायांकन राहुल राई र मेफुज अन्सारी, सम्पादन सुभाष देवकोटा, कलरपोस्ट कल्पेश विश्वकर्मा, भिएफएक्स दिनेश ढकाल र श्रृंगार डीके हमालको रहेको छ।

सम्बन्धित समाचार

सबै