
‘माइतीघर’ का सफल निर्देशक मिलन तामाङ ले आफ्नो नयाँ फिल्म ‘कहाँ भेटिएला’ को घोषणा गरेका छन्। निर्माण टिमका अनुसार फिल्मको छायांकन आगामी चैत २० गतेबाट सुरु हुने र जेठ अन्त्यसम्म पूरा गर्ने योजना छ। फिल्मका गीत दृश्य भने माघ महिनामा छायांकन हुने निर्माण पक्षको जानकारी छ। फिल्मको प्रदर्शन मिति भने हाल तय गरिएको छैन।
निर्देशक तामाङले हालसम्म फिल्ममा सहभागी कलाकार र प्राविधिकहरूको नाम सार्वजनिक गरेका छैनन्। उनले केही दिनभित्र सम्पूर्ण जानकारी दिने बताए।
“अहिले फिल्मको टाइटल मात्र सार्वजनिक गरेका हौँ। केही दिनमा फिल्मका कलाकार र प्राविधिकहरूको बारेमा जानकारी दिइनेछ,” उनले भने।
निर्देशक तामाङले आफ्नो निर्देशन यात्रा पहिलोपटक ‘माइतीघर’ बाट सुरु गरेका थिए, जसले दर्शकको प्रशंसा पाएको थियो। यसै कारण उनी २०८२ सालको नम्बर १ डेब्यु निर्देशक बनेका थिए।
दशैंको फुलपातिमा एकसाथ प्रदर्शनमा आएका तीन फिल्म ‘हरि बहादुरको जुत्ता’, ‘बलिदान’ र ‘माइतीघर’ मध्ये दर्शकहरूले निर्देशनको हिसाबले ‘माइतीघर’ लाई सर्वोत्कृष्ट मानेका थिए।
‘माइतीघर’ ले बक्स अफिसमा मात्र राम्रो व्यापार गरेन, निर्देशक मिलन तामाङको नामलाई नेपाली फिल्म क्षेत्रमा स्थापित पनि गरिदियो। उनी फिल्म, एनिमेशन, क्लासिकल म्युजिक र अभिनय मा गहिरो अध्ययन र पारंगत मानिन्छन्।
हाल ‘माइतीघर’ अझै पनि देशभर प्रदर्शन भइरहेको छ। फिल्मले राम्रो प्रतिक्रिया पाएको समयमा मिलन तामाङले भने,
“‘कहाँ भेटिएला’ लाई अझ नेक्स्ट लेभलमा बनाई दर्शकलाई नयाँ अनुभूति दिनेछु।”
फिल्म क्षेत्रका विश्लेषकहरूले बताउँछन् कि अहिले मिलन तामाङ र ‘माइतीघर’ दुवै देशभर चोक–चोक, चिया पसलदेखि सामाजिक सञ्जालसम्म चर्चाको विषय बनेका छन्। उनका समर्थकहरूका अनुसार उनले बलिदान जस्ता ठूला बजेटका फिल्मलाई समेत प्रतिस्पर्धा दिँदै नेपाली फिल्म निर्देशनमा नयाँ स्तर स्थापित गरेका छन्।