
आगामी कात्तिक ६ गते भाइटीकाको अवसरमा रिलिज हुन लागेको चलचित्र ‘वरिष्ठ बलराम’ हाल चर्चाको शिखरमा छ। सार्वजनिक गीत ‘न्यौली बनैमा’ र ट्रेलरले दर्शकहरूको मन जित्न सफल भएका छन्।
गीत ‘न्यौली बनैमा’ सामाजिक सञ्जाल, विशेषगरी टिकटकमा व्यापक लोकप्रियता बटुलिरहेको छ। सार्वजनिक भएको दुई हप्तामै यस गीतले युट्युबमा ५२ लाख ९६ हजारभन्दा बढी भ्यूज प्राप्त गरिसकेको छ।
गीतका शब्द र संगीत प्रशान्त शिवाकोटीले तयार पारेका हुन् भने गीतमा प्रशान्त र शान्तिश्री परियारको स्वर रहेको छ।
सार्वजनिक गीतमा एकअर्कालाई मन पराउने युगलको भूमिकामा विजय बराल र समृद्धि अर्याल छन्। गीतमा शंकाका बीचमा पनि सँगै जीवन बिताउने सहमति देखाइएको छ। विशेषगरी, विजयको अभिनय र नृत्यले दर्शकबाट प्रशंसा पाएको छ, जसले चलचित्रको प्रचार–प्रसारमा ठूलो योगदान पुर्याएको छ।
गीतको सफलतासँगै ट्रेलरले पनि दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएको छ। चार दिनअघि सार्वजनिक ट्रेलरले १३ लाख ९६ हजारभन्दा बढी भ्यूज प्राप्त गरेको छ।
ट्रेलरमा दयाहाङ राई र विजय बरालको टकराबलाई दर्शकले मन पराएका छन्। दयाहाङको फरक गेटअप र दुवै कलाकारको अभिनयले युट्युबमा तारिफ पाएको छ।
गीत र ट्रेलरले बटुलेको लोकप्रियता हेर्दा ‘वरिष्ठ बलराम’ ले बक्स अफिसमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
चलचित्र सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्।
भृषभ सिद्धी इन्टरटेन्मेन्टको प्रस्तुति र आन्भी फिल्म्सको सहकार्यमा निर्माण भएको ‘वरिष्ठ बलराम’ मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय रहेको छ।
चलचित्रको कथा र सम्पादन निर्देशक पौडेलकै रहेको छ भने पटकथा महेश दवाडीले लेखेका छन्।
निर्माता हुन् आशिष एच. तामाङ र श्रीराज कार्की, कार्यकारी निर्माता प्रदीप जी. धामी र पुष्कर बी. घिमिरे, तथा लाइन प्रोड्युसर राम विष्ट।
छायांकन मनकृष्ण महर्जन, संगीत प्रशान्त शिवाकोटी, एक्सन निर्देशन सम्राट बस्नेत, र नृत्य निर्देशन प्रदीप लामाको रहेको छ।
चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।