फागुन १ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘कल्ली’को ३ पोस्टर सार्वजनिक गर्दै यसको निर्माण पक्षले प्रचार आरम्भ गरेको छ। किरण नेपालीको प्रस्तुतिमा तयार भएको यस फिल्मको पोस्टरमा कलाकारहरूको फरक–फरक गेटअप देख्न सकिन्छ।
महेश दवाडीको लेखन रहेको फिल्मको कथा र निर्देशन लक्ष्मण सुनारको रहेको छ। सार्वजनिक पोष्टरमा नायक नाजिर हुसेन र नायिका वर्षा राउतको काखमा बाल कलाकार मञ्जिला बानियाँलाई देख्न सकिन्छ। अर्को पोष्टरमा कलाकार सुलक्षण भारतीको फरक गेटअप देखाइएको छ भने तेस्रो पोष्टरमा नायक सौगात मल्ललाई देख्न सकिन्छ। यसले फिल्मको कथावस्तु सम्बन्धी दर्शकको उत्साह अझ बढाएको छ।
फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, वर्षा राउत, बेगम नेपाली, बिनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुलबहादुर अधिकारी, सरस्वती खत्री र श्याम मगरको मुख्य भूमिका छ। उपेश ढकाल, मञ्जिला बानियाँ र समर्पण खतिवडा बाल कलाकारको रूपमा छन्।
आशिष अविरल, सरित राई, र केतन क्षेत्रीको संगीत रहेको यस फिल्ममा एनवी महर्जनको एक्सन, निसाल पौडेलको छायांकन छ। फिल्मको पोस्टर राकेश दाहालले तयार पारेका हुन्। लेकाली इन्टरटेन्मेन्ट प्रा.लि. र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा यो फिल्म तयार भएको हो।


