सोल्टिनी’ टिमको देशव्यापी देउसी भैलो यात्रा

0 Shares

भाइटीकाको अवसरमा रिलिज हुन लागेको नेपाली चलचित्र सोल्टिनी हाल देशभरका विभिन्न सहरहरूमा देउसी भैलो कार्यक्रममार्फत प्रचार–प्रसारमा व्यस्त छ।

कलाकारहरूले दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै चलचित्रको प्रचारसँगै सांस्कृतिक परम्पराको सम्मान र सामाजिक योगदान दुवै निभाइरहेका छन्।

चलचित्रका मुख्य कलाकार प्रकाश सपूत, परीक्षा लिम्बु, सुन्दर धिताल, सबु गुरुङ, सुजन खतिवडा लगायतको टोलीले आइतबार साँझ झापा जिल्लाको दमकमा याक्थुङ फिल्म मेकर्स एसोसिएसन कोसी प्रदेश कार्यसमितिसँग मिलेर आयोजना गरेको देउसी भैलो कार्यक्रममा सहभागिता जनाउँदै वातावरणलाई उल्लासमय बनाएका थिए।

कलाकार र स्थानीयवासीले देउसी खेल्दै रमाइलो गरे भने सो अवसरमा लिम्बू चलचित्रकर्मीहरूको अक्षयकोष निर्माण सहयोगार्थ सङ्कलित रकम हस्तान्तरण गरिएको थियो।

सोल्टिनी टिमले मोरङ जिल्लाको मिक्लाजुङमा जारी मधुमाला रमाइलो मिनी मेला २०८२ मा पनि सहभागिता जनाउँदै चलचित्रको प्रचार गरेको छ। सोमबार सुनसरीको धरानमा देउसी भैलो आयोजना हुँदैछ। कार्यक्रममा सहभागी कलाकारहरू मङ्गलवार पोखरा र बुधबार काठमाडौंमा हुने देउसी भैलो कार्यक्रममा पनि चलचित्रको प्रमोसन यात्रा जारी राख्नेछन्।

२ घण्टा २५ मिनेट ३३ सेकेन्ड लामो चलचित्र सोल्टिनीले केन्द्रीय चलचित्र जाँच समितिबाट ‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरेको छ। यसको अर्थ, चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने परिवारमैत्री फिल्म हो।

चलचित्रको अग्रिम टिकट बिक्री सुरु भइसकेको छ र देशभरका हलहरूले यसका लागि आकर्षक शो सङ्ख्या तोकेका छन्, जसले दर्शकमाझ उत्साह थपेको छ।

अर्जुन सुवेदीले निर्देशन गरेको सोल्टिनी एक अन्तरजातीय प्रेमकथामा आधारित चलचित्र हो, जसले सामाजिक विभेद, समुदायबीचको असमानता र प्रेममा देखिने संघर्षलाई संवेदनशील ढंगले चित्रण गरेको छ। चलचित्रमा मुख्य भूमिकामा प्रकाश सपूत र परीक्षा लिम्बु रहेका छन्। उनीहरूसँगै विल्सन विक्रम राई, रविन्द्र झा, सुन्दर धिताल, सुजन खतिवडा, सबु गुरुङ, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेलगायत कलाकारहरूको सशक्त अभिनय देख्न पाइन्छ।

भाइटीकाको दिन देशभर प्रदर्शनमा आउने सोल्टिनीले मनोरञ्जनसँगै सामाजिक सन्देश पनि दिने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै