तिहार पर्व सुरु भएसँगै आज यमपञ्चकको दोस्रो दिन घरघरमा लक्ष्मी पूजा गरिदैछ। यसैबिच कलाकारहरू पनि तिहारको तयारीमा व्यस्त छन्। साथै आज कुकुर तिहार पनि मनाइँदैछ।
यस पर्वको माहोलमा, तिहार सकिए लगत्तै कार्तिक १४ बाट रिलिज हुने परान फिल्मको तयारी तिव्र भएको छ। फिल्मका मुख्य दुई नायिका केकी अधिकारी र अन्जना बराइलीले यमपञ्चकको पहिलो दिन साँझ देउसी भट्याएका छन्।
आइतबार राष्ट्रिय लोक सन्चारकर्मी नेपालले इन्द्रेणी समाजको हलमा आयोजना गरेको विशेष देउसी भैलो कार्यक्रममा परान टिम सहभागी भएको थियो। कार्यक्रममा केकी र अन्जनासँगै फिल्मका निर्देशक दीपक प्रसाद आचार्य, प्रोडक्सन म्यानेजर अनिश अधिकारी र समर चौलागाईं उपस्थित थिए। साँझ ५ बजे सुरु भएको देउसी कार्यक्रम करिब १ घण्टासम्म चलेको थियो। यसमा इन्द्रेणी समाजका अध्यक्ष कृष्ण कंडेल, गायक सरोज लामिछाने, युवराज चौलागाईं, गायिका शिला आलेलगायतले सहजीकरण गरेका थिए।
राष्ट्रिय लोक सन्चारकर्मी नेपालका प्रवक्ता शिखर जंग श्रेष्ठले परानका कलाकारलाई स्वागत गर्दै देउसी भट्याए। त्यसपछि गायक सरोज लामिछानेले पनि देउसी भट्याएर स्वागत गरे। निर्देशक दीपक प्रसाद आचार्यले फिल्मबारे जानकारी दिँदै परान विशेष शब्दहरू राखेर देउसी भट्याए। त्यसपछि नायिका केकी अधिकारीले तिहार गीत गाउँदै देउसी प्रस्तुत गरिन्।
अर्की नायिका अन्जना बराइलीले पनि आफ्नो बाल्यकालका रमणीय तिहार पलहरू सम्झिएकी थिइन्। प्रोडक्सन म्यानेजर अनिश अधिकारीले तिहार विशेष मिठो गीत गाएर माहोल रमाइलो बनाएका थिए।
केकी अधिकारीले तिहार सुरु भएसँगै सबैतिर झिलिमिली भएकोले खुशीको माहोल व्याप्त भएको बताइन्। राष्ट्रिय लोक सन्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमले मौलिकतालाई ध्यानमा राख्दै संस्थाले इन्द्रेणी समाजसँगको सहकार्यमा देउसी भैलो आयोजना गरेको बताए। उनले परान टिमलाई स्वागत गर्न पाउँदा खुशी लागेको पनि बताएका छन्।