उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक प्रणाली अन्तर्गत चर्चित गायिका तथा चिकित्सक त्रिशला गुरुङलाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
पार्टीका अनुसार स्वास्थ्य क्षेत्र सुधार, समावेशी राजनीति र पेशागत दक्षतालाई आधार मानेर गुरुङलाई समानुपातिक उम्मेदवारको सूचीमा अघि सारिएको हो।
हालको स्वास्थ्य प्रणालीमा असमान पहुँच, उपचार खर्चको तीव्र वृद्धि, ग्रामीण क्षेत्रमा स्वास्थ्य जनशक्तिको अभाव र स्वास्थ्य बजेटको प्रभावहीन कार्यान्वयन जस्ता चुनौती विद्यमान रहेको पार्टीको ठहर छ।
चिकित्सकीय अभ्यासबाट प्राप्त अनुभव र नीतिगत बुझाइका कारण गुरुङले संसदमा स्वास्थ्य क्षेत्रका यी समस्यामाथि व्यवहारिक तथा प्रमाणमा आधारित बहस अघि बढाउने विश्वास पार्टीले व्यक्त गरेको छ।
साथै, एक स्थापित गायिकाका रूपमा गुरुङले कला र संस्कृतिमार्फत सामाजिक चेतना अभिवृद्धि गर्दै आएकी छन्। स्वास्थ्य र सांस्कृतिक चेतनालाई जोड्ने उनको बहुआयामिक पहिचानले संसदमा फरक र प्रभावकारी प्रतिनिधित्व सुनिश्चित गर्ने उज्यालो नेपाल पार्टीको धारणा रहेको छ।
समानुपातिक उम्मेदवारका रूपमा सिफारिस भएसँगै गुरुङले “स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार हो” भन्ने मूल्यलाई केन्द्रमा राख्दै सुशासन, समावेशी नीति निर्माण र जनउत्तरदायी स्वास्थ्य प्रणालीका लागि संसदमा दृढ आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।