काठमाडौँ — आगामी माघ १६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म **‘आ बाट आमा’**को चर्चित गीत **‘लैजा खबर ए हावा’**को नेवारी भर्सन सार्वजनिक गरिएको छ। निर्माण टिमले बिहीबार उक्त गीत ओएसआर युट्युब च्यानलमार्फत रिलिज गरेको हो।
नेवारी भर्सनको गीतमा गायक तथा अभिनेता यमन श्रेष्ठको स्वर रहेको छ। युट्युबमा सार्वजनिक हुनासाथ गीतले दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया पाएको निर्माणपक्षले जनाएको छ।
यसअघि रवि ओडको स्वरमा रहेको ओरिजिनल नेपाली भर्सन ‘लैजा खबर ए हावा’ दर्शकमाझ निकै लोकप्रिय बनेको थियो। सोही गीतलाई नेवारी भाषामा गाएका यमन श्रेष्ठले नेवारी भर्सनमा गाउन पाउँदा आफू निकै खुसी भएको प्रतिक्रिया दिएका छन्।
गीतमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ भने नेवारी भाषामा मदन कृष्ण श्रेष्ठले अनुवाद गरेका हुन्।
फिल्मका निर्देशक चन्द्र पन्तले फिल्ममा नेपालीसँगै नेवारी भाषामा पनि गीत समावेश गरिएको जानकारी दिँदै दर्शक–श्रोताले मन पराउनेमा आफू ढुक्क रहेको बताए। उनले आगामी दिनमा अन्य भाषामा पनि गीत रेकर्ड गर्ने योजना रहेको समेत बताए।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्ममा विपना थापा र पल शाह मुख्य भूमिकामा छन्। साथै प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारको पनि अभिनय रहेको छ। यतिबेला फिल्मको प्रचारप्रसारमा अभिनेता पल शाह, विपना थापासहित निर्माण टिम सक्रिय छ।
निर्देशक चन्द्र पन्तकै कथा तथा पटकथामा बनेको फिल्ममा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत रहेको छ। गीतको भिडियोमा गंभीर बिष्ट र दिलिप ओखेडाको कोरियोग्राफी छ।
नवराज उप्रेती डीओपी रहेको फिल्ममा संवाद अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तको सहकार्यमा लेखिएको हो। फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता हुन्।
फिल्मको सम्पादन मिलन श्रेष्ठले गरेका छन् भने ट्रेलर र टिजर साहिल खानले निर्माण गरेका हुन्।
नेपालमा फिल्मको प्रदर्शन अधिकार आरआर फिल्म्ससँग रहेको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलसँग छ।