‘गोबर गणेश’ले पायो युनिभर्सल सर्टिफिकेट

0 Shares

फिल्म ‘गोबर गणेश’ले सेन्सर बोर्डबाट ‘ग्रीन सिग्नल’ पाएको छ। पछिल्लो समय दर्शकमाझ चर्चामा रहेको यस फिल्मलाई केन्द्रीय चलचित्र जाँच समितिले ‘यू’ (युनिभर्सल) सर्टिफिकेट प्रदान गरेको हो। अब फिल्म माघ १ गते, माघे संक्रान्तिको अवसर पारेर देशभर प्रदर्शनमा आउनेछ।

हाँस्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’को निर्देशन तथा मुख्य अभिनय रहेको ‘गोबर गणेश’ सोमबार सेन्सरमा पास भएको हो। ‘यू’ सर्टिफिकेट पाएसँगै यो फिल्म बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहका दर्शकले परिवारसँगै बसेर हेर्न पाउनेछन्।

फिल्म पढाइमा कमजोर एक गाउँले युवकको कथामा आधारित छ, जो अवसरको खोजीमा काठमाडौं आएपछि जीवन बदल्न संघर्ष गर्छ। सार्वजनिक पोस्टर, ट्रेलर र गीतले देखाएअनुसार फिल्मले ग्रामीण पृष्ठभूमिबाट शहरसम्मको संघर्षलाई हास्य र भावनात्मक ढंगले प्रस्तुत गरेको छ।

फिल्मका पोस्टर, ट्रेलर र गीतले राम्रो चर्चा पाइरहेका बेला सेन्सर बोर्डबाट प्राप्त सकारात्मक प्रतिक्रियाले निर्माण टिम उत्साहित भएको छ। निर्देशक मरिचमान श्रेष्ठका अनुसार सेन्सर बोर्डका सदस्यहरूले फिल्मलाई राम्रो बनेको प्रतिक्रिया दिएका छन्।

बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा बनेको यस फिल्ममा मरिचमान श्रेष्ठसँगै वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी र स्वस्तिका लामिछाने लगायतको अभिनय छ।

फिल्ममा तारानाथ न्यौपाने चिफ एडी, योगेश काजी शाह बीजीएम, शंकर पाण्डे प्रोडक्सन, शिवराम श्रेष्ठ डीओपी र विपीन मल्ल सम्पादक रहेका छन्।

टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहेको फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल हो। नेपालभर यसको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ।

सम्बन्धित समाचार

सबै