मदनकृष्ण श्रेष्ठद्वारा यम बरालका तीन नयाँ गीत सार्वजनिक

0 Shares

गायक यम बरालका तीन नयाँ गीत सार्वजनिक गरिएको छ। राजधानीमा सोमबार आयोजित विशेष कार्यक्रममा बरालका ‘यो साँझ फेरी’, ‘जुन र सुनको’ र ‘टेण्डर माया’ सार्वजनिक गरियो।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गीत तथा भिडियो सार्वजनिक गरे। कार्यक्रममा वरिष्ठ संगीतकार तथा प्राध्यापक दीपक जंगम, कलाकार तथा निर्देशक दिपाश्री निरौला, वरिष्ठ पत्रकार ऋषि धमलालगायतको उपस्थिति थियो।

सार्वजनिक गीतमध्ये ‘यो साँझ फेरी’मा राखी गौचनको शब्द र शंकर थापा ‘स्माइल’को संगीत रहेको छ। केशव राज भट्टले निर्देशन गरेको भिडियोमा जुना कार्की र गायक यम बरालको अभिनय देख्न सकिन्छ।

दोस्रो गीत ‘जुन र सुनको’मा सञ्जय बरालको शब्द र विकास चौधरीको संगीत छ। गीतको भिडियोको निर्देशन स्वयं गीतकार बरालले गरेका छन्। भिडियोमा यम बरालसहित श्री थपलिया, सुरेन पौडेल र नारायण प्रधान सैजुको अभिनय रहेको छ।

तेस्रो गीत ‘टेण्डर माया’मा पनि सञ्जय बरालकै शब्द र विकास चौधरीको संगीत रहेको छ। नितिन चन्दको निर्देशनमा बनेको भिडियोमा सन्दीपा गौतम, नवीन महतरा क्षेत्री, रशिला श्रेष्ठ र यम बराल स्वयंको अभिनय छ।

कार्यक्रममा बोल्दै गायक बरालले लामो समयपछि आफू मूलधारको संगीतमा फर्किएको बताए। ३५ वर्षदेखि निरन्तर संगीतमा सक्रिय रहँदै आएका बरालले आफू प्रचारभन्दा साधनामा विश्वास गर्ने गायक भएको बताए।

प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले यम बराल आफ्नो मनपर्ने स्वरमध्ये एक भएको उल्लेख गर्दै उनका गीतले आफूलाई भावनात्मक रूपमा छोएको प्रतिक्रिया दिए। संगीतकार शंकर थापा ‘स्माइल’ र दीपक जंगमले पनि बरालको गायकी र सार्वजनिक सिर्जनाको खुलेर प्रशंसा गरे।

कार्यक्रममा गीतकार संघ, चलचित्र पत्रकार संघका प्रतिनिधि, संगीतकर्मी, कलाकार तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार

सबै