पोस्टर सार्वजनिक गर्दै सिनेमाको नयाँ रिलिज मितिसमेत घोषणा गरिएको हो।
निर्माणपक्षले यसअघि कार्तिक १५ गतेबाट पुस २६ मा पुर्याएको रिलिज मितिलाई पुनः पर धकेल्दै फागुनमा पुर्याएको छ ।
नयाँ मिति अनुसार सिनेमा महाशिवरात्रि अर्थात फागुन १४ गते रिलिज हुनेभएको छ।
‘मायावी’ले सार्वजनिक पहिलो पोस्टरमा पल र दीपिकालाई प्रमुखता दिइएको छ। सार्वजनिक पोस्टरमा उनीहरुलाई रोमान्टिक भावमा देख्न सकिन्छ भने अर्कोतर्फ पल भावुक देखिएका तस्विर पनि समावेश गरिएको छ ।
यस्तै पृष्ठभूमिमा फेवाताल र एक जोडी डुंगा देख्न सकिन्छ । पोस्टरले फिल्म प्रेम र वियोगमा केन्द्रित रहेको देखाउँछ ।
निर्देशक दीवाकर भट्टराई निर्देशित सिनेमामा दीपिका प्रसाईं, पल शाह प्रशान्त ताम्राकार, सुशील सिटौला, लक्ष्मी गिरी, राजाराम पौडेल, करिश्मा श्रेष्ठ, अंशु महर्जन लगायतको पनि अभिनय छ ।
दीवाकरले महाशिवरात्रीमा आफ्नो नयाँ फिल्म ‘नरसिंहा अवतार’ प्रदर्शन गर्ने तयारी गरेको भएतापनी छायांकन र पोस्ट प्रोडक्सनमा समय लाग्ने भएपछि ‘मायावी’ रिलिज गर्न लागेका बताइन्छ ।
यो मितिमा ‘लाज शरणम्’ले तथा त्यसको दुई दिनपछि अर्थात् फागुन १६ मा ‘होस्टेल ३’ आउने तयारीमा रहेका छन् ।
सिनेमा स्वयं निर्देशक भट्टराईले लेखेका हुन् भने निर्मातामा राज कटुवाल, चन्द्र पन्त र ध्रुव न्यौपाने रहेका छन् ।
सिनेमामा राजु विक्रम थापाको डीओपी, मिलन श्रेष्ठको सम्पादन तथा शम्भुजित बाँस्कोटा र एसडी योगीको संगीत छ ।