बंगलादेशमा ‘द चेन्ज’ र ‘तान्त्रिक डान्स’ सम्मानित

0 Shares

बंगलादेशको बोगरा सहरमा सम्पन्न छैटौँ बोगुरा अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा नेपाली लघु फिल्म ‘द चेन्ज (परिवर्तन)’ र बृत्तचित्र ‘तान्त्रिक डान्स’ सम्मानित भएका छन्।

३२ देशका ७४ फिल्म सहभागी रहेको महोत्सवमा नेपालबाट तीन लघु फिल्म र एक बृत्तचित्र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा समावेश थिए। तीमध्ये गीतकार तथा सञ्चारकर्मी डब्बु क्षत्री निर्देशित लघु फिल्म ‘द चेन्ज’ ‘इन्टरनेशनल सर्ट इन्डोर’ विधामा छनोट हुँदै ‘अनरेबल मेन्सन अवार्ड’बाट पुरस्कृत भएको हो।

महोत्सवमा निर्देशक डब्बु क्षत्रीसँगै अभिनेता प्रवण भुसाल, अभिनेत्री तथा गायिका सरिता भारती र मेकअप आर्टिस्ट बिना राना मगर नेपालबाट सहभागी थिए। समापन समारोहमा निर्देशक क्षत्री, अभिनेता भुसाल र अभिनेत्री भारतीले अवार्ड ग्रहण गरे। फिल्ममा प्रवण र सरितासँगै कमला जोशी, माधवराज खरेल, शर्मिला शर्मा र सुरज अधिकारीको मुख्य भूमिका रहेको छ।

त्यस्तै, निर्देशक केपी पाठकद्वारा निर्देशित बृत्तचित्र ‘तान्त्रिक डान्स’ पनि अन्तर्राष्ट्रिय विधातर्फ ‘अनरेबल मेन्सन अवार्ड’बाट सम्मानित भएको छ। कात्तिक नाचमा आधारित यो बृत्तचित्रलाई पनि महोत्सवको उद्घाटन समारोहमा बंगलादेश प्रिमियर गरिएको थियो।

पुण्ड्रनगर फिल्म सोसाइटी बोगराद्वारा आयोजना गरिएको तीनदिने महोत्सव बोगराको मधुवन सिने कम्प्लेक्समा सम्पन्न भएको थियो। बुधबार सुरु भएको महोत्सव शनिबार राति अवार्ड वितरणसँगै समापन भएको हो।

महोत्सवका निर्णायक मण्डलमा नेपाल इन्टरनेशनल कल्चरल फिल्म फेस्टिबलका अध्यक्ष सन्तोष सुवेदीसहित निर्माता मोहम्मद रकिबुल हसन, निर्देशक खण्डेकर सुमन, चलचित्रकर्मी अन्तु आजाद, छायाँकार शेख राजिबुल इस्लाम, निर्माता राजिबुल हुसेन र जीवन शाहदत रहेका थिए।

महोत्सवमा नेपाल, भारत, रुस, सिंगापुर, स्पेनसहित विभिन्न देशका चलचित्रकर्मी सहभागी थिए। आयोजकका अनुसार, यो बंगलादेशमा आयोजना हुने अन्तर्राष्ट्रिय फिल्म महोत्सवमध्ये दोस्रो ठूलो महोत्सव हो।

सम्बन्धित समाचार

सबै