काठमाडौँ उपत्यकाका सिनेमा हलका लागि चलचित्र विकास शुल्क पोर्टल तालिम सम्पन्न

0 Shares

चलचित्र विकास बोर्डद्वारा काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका सिनेमा हलहरूका लागि आयोजना गरिएको चलचित्र विकास शुल्क पोर्टलसम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

२०८२ साल पौष २८ र २९ गते सञ्चालन गरिएको दुईदिने तालिममा पहिलो दिन उपत्यकाका १३ सिनेमा हलबाट १८ जना तथा दोस्रो दिन १४ सिनेमा हलबाट २० जना प्रतिनिधिको सहभागिता रहेको थियो। यसरी कुल २७ सिनेमा हलका ३८ जना प्रतिनिधिले तालिम लिएका छन्।

तालिममा चलचित्र विकास शुल्कसम्बन्धी विद्यमान कानुनी व्यवस्था, यसको कार्यान्वयन अवस्था, डिजिटल पोर्टलको आवश्यकता र औचित्य, तथा शुल्क व्यवस्थापनमा पोर्टलको प्रभावकारिताबारे जानकारी दिइएको थियो। सहभागीहरूलाई पोर्टलको सैद्धान्तिक अवधारणासँगै व्यवहारिक प्रयोगसम्बन्धी प्रशिक्षण पनि प्रदान गरिएको बोर्डले जनाएको छ।

कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले डिजिटल पोर्टलमार्फत शुल्क संकलन र व्यवस्थापन प्रक्रिया थप पारदर्शी, सहज र उत्तरदायी बन्ने विश्वास व्यक्त गरे।
“डिजिटल प्रणालीमार्फत शुल्क व्यवस्थापनलाई व्यवस्थित बनाउँदै चलचित्र उद्योगलाई आधुनिक प्रविधिसँग जोड्नु बोर्डको प्राथमिक लक्ष्य हो,” उनले भने, “यस पोर्टलले दीर्घकालीन रूपमा उद्योगको संस्थागत विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ।”

बोर्डका अनुसार यसअघि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश तथा बागमती प्रदेशअन्तर्गत चितवन जिल्लाका सिनेमा हलहरूका लागि पनि यस्तै तालिम सम्पन्न भइसकेको छ। अब माघ २ गतेदेखि माघ ७ गतेसम्म गण्डकी प्रदेशका सिनेमा हलहरूलाई चलचित्र विकास शुल्क पोर्टलसम्बन्धी तालिम प्रदान गरिने कार्यतालिका तय गरिएको छ।

चलचित्र विकास बोर्डले यस्ता तालिम कार्यक्रममार्फत चलचित्र उद्योगलाई डिजिटल प्रणालीसँग आबद्ध गर्दै शुल्क व्यवस्थापन प्रक्रियालाई अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।

सम्बन्धित समाचार

सबै